राजन रावत
हुम्ला मङ्सिर १ गते । दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म जान पैदल यात्रुहरू मर्कामा पर्ने गरेको पाइएको छ । बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटको कारण यात्रु मर्कामा परेकाे भएको हो ।
चङ्खेली गाउँपालिका– ४ को पिप्लाङबाट सुर्खेत पुग्नुभएकी सीता शाहीले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताउनुभयो । उहाँले बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटको कारण यात्रामा हैरानी खेप्नुपरेको बताउँदै यसले गर्दा एक दिनमा पुगिने सुर्खेत चार दिन लागेको बताउनुभयो । उहाँले सरीसल्लाबाट बाजुराको धुला चौरसम्म मात्र बोलेरो जिपमा यात्रा गर्न पाइने नियमले एक दिन धुलाचौरमै बस्नुपर्ने, धुलाचौरबाट बाजुराकै पीलु पुगेर उत्रिनुपर्ने नियम रहेको बताउनुभयो ।
तेस्रो दिन पीलुबाट कालिकोटको जितेबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता रहेको गुनासो उहाँले गर्नुभयो । स्थानीय यातायात व्यवसायीहरूले आफ्नो क्षेत्रबाट आफ्नै जिपहरू चढ्नुपर्ने नियम बनाएबाट यात्रुहरूले हैरानी खेपी रहेको उहाँले बताउनुभयो । बोलेरो जिपहरूले कम्तीमा पनि दश जना यात्रु नपुगेसम्म गाडी सञ्चालन गर्न नमान्ने बताउँदै उहाँले यस्तो सिन्डिकेटलाई तोड्नुपर्ने उहाँको माग रहेको छ । दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि यातायात व्यवसायीको सिन्डिकेटको कारण यात्रुहरूमा झनै मर्कामा पर्नुभएको छ ।
यी स्थानमा रहेका प्रहरी चौकीले पनि केही गर्न नसक्ने बताउँदै उहाँले देशभर यातायात व्यवसायीको सिन्डिकेट हटेको भए पनि कर्णाली करिडोरको कालिकोट र बाजुरा जिल्लामा हट्न नसकेको बताउनुभयो । यसले गर्दा यात्रुहरूलाई समय पनि बढी लाग्ने र आर्थिक व्ययभार पनि बढी नै हुने गरेको छ ।