• ६ माघ २०८१, आइतबार

जङ्गली हात्तीद्वारा लाखौँको बाली क्षति

blog

बर्दीबास समाचारदाता

बर्दीबास, मङ्सिर १ गते । महोत्तरीको उत्तरी भेगका प्रवेश गरेका जङ्गली हात्तीले दुःख दिन थालेपछि बर्दीबासको ग्रामीण भेगका बासिन्दा त्रासमा छन् । स्थानीयका अनुसार एक छावासहित पाँच वटा हात्तीले बर्दीबास नगरपालिकाको वडा नं. २ र ५ का आधा दर्जन बस्तीमा प्रवेश गरी क्षति पु¥याउन थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् । 

गाउँ पसेका पाँच वटामध्ये एक जोडी हात्तीले बर्दीबास–८, हात्तीलेटमा र छावासहितका तीन वटा हात्तीले सोही वडाको लोप्चन टोलमा दुःख दिने गरेको पीडित गाउँलेले जानकारी दिएका हुन् ।  

हात्तीलेटका पिताम्बर महतोका अनुसार बस्ती प्रवेश गरेका हात्तीले दुई सातादेखि दुःख दिन थालेका छन् । यस अवधिमा हात्तीलेटमा काट्ने बेलाको धान, तयारी हुन लागेका उखु, काउली, केरा, भान्टालगायत करिब १० बिघामा लगाइएको बाली नष्ट गरेको छ । हात्तीका कारण अनुमानित २० लाख रुपियाँ बराबरको क्षति भएको उहाँले जनाउनुभयो । सोही ठाउँका विजय यादवको निर्माणाधीन घरका चार वटा पिल्लरसमेत हात्तीले ढालिदिएको छ । 

छावासहितका हात्तीले लोप्चन टोलमा पनि उत्तिकै क्षति गरेको पीडितको दुःखेसो छ । लोप्चन टोलका छविलाल साहका अनुसार मध्यराततिर बस्ती छिरेका हात्तीले बाली सखाप पार्नुका साथै टोलका डिकबहादुर लोप्चनको कच्ची घरको भित्ता भत्काउनुका साथै छिमेकीको घरको झ्यालको सिसासमेत फुटाएको छ । 

हात्तीलेट क्षेत्र प्रवेश गर्नुअघि हात्तीले बर्दीबासको हङकङ डाँडाका सेते कामीको सात कट्ठा १५ धुरमा लगाएको मङ्सिरे धानबाली नष्ट गरेको छ । स्थानीयका अनुसार दिनभर हात्ती देखा पर्दैनन् । मध्यराततिर सागरनाथ वन विकास परियोजनाको जङ्गलबाट बस्ती र खेतबारी पसेर मनपरी गर्छन् । उज्यालो हुनअघि फेरि जङ्गली क्षेत्र छिर्छन् । 

हात्तीबाट आक्रान्त गाउँलेले सुरक्षाका लागि अन्ततः प्रशासन गुहारेका छन् । महोत्तरी प्रशासनको आदेशमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई घटनास्थलमा खटाइएको छ । 

महोत्तरीको उत्तरी भेगमा जङ्गली हात्तीले हरेक वर्ष दुःख दिँदै आए पनि यसको स्थायी समाधान हुन सकेको छैन । गत वर्ष पनि भदौ अन्तिम साता महोत्तरीको ग्रामीण भेगमा प्रवेश गरेका हात्तीले बर्दीबासका दुई वडामा नौ घर र गौशाला नगरपालिकाका वडा नं. १० र १२ मा चार गरी १३ परिवारको घरमा क्षति पु¥याउनुका साथै लाखौँ मूल्य बराबरको बाली क्षति गरेका थिए । जङ्गल पातलिँदै गएपछि पर्याप्त खाना र पानी नपाउँदा हात्ती गाउँ पस्ने गरेको वन रक्षकको भनाइ छ ।