• २३ पुस २०८१, मङ्गलबार

पक्की पुल टुलुटुलु हेर्दै पैसा तिरेर कच्ची पुलबाट यात्रा

blog

पक्की पुलको तल आवतजावतका लागि निर्माण गरिएको कच्ची काठको पुल । तस्विर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक ३० गते । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनि बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।

बाँसको भाटाको पुलबाट खोला तर्दा पनि पैदल एक जनाको १०, साइकलमा ३० रुपियाँ र मोटरसाइकलमा ३० रुपियाँ तिर्नुपर्छ । सिटी तथा टेम्पोहरुले २ सय रुपियाँसम्म तिर्न बाध्य बनेको बताइएको छ । बाँसको पुल तर्नका लागि २ लाखमा गाउँपालिकाले नै ठेक्का लगाएको पाइएको छ । दैनिक ५ सय जनाभन्दा बढीको ओहोरदोहोर हुनेगरेको स्थानीयहरु बताउँछन् ।

तत्कालीन अवस्थामा मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुलको ठेक्का लगाएको थियो । सो समयमा कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको थियो । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का लिएर निर्माणको काम सुरु गरेको थियो । धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्था नबनेपछि धेरै समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष गैदार महतोले बताउनुभयो ।

पुल छोटो भयो तर खोला फराकिलो बन्यो, उहाँले भन्नुभयो । चारसय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ । खोलाको बीचमा पुल देख्दा नयाँ आउनेहरु त छक्क पर्थे, उहाँले भन्नुभयो । डिजाइन हुँदा ठिकै थियो होला, पछि खोलाले धार परिवर्तन गर्दा खोला बढ्यो तर पुल बनाउने बिषयमा चासो नहुँदा यो अवस्था आएको हुनसक्ने उहाँले बताउनुभयो । 

हुलाकी राजमार्ग हुँदै गौरीगञ्ज गाउँपालिका ६ चिल्लारा र मोरङको दक्षिणपूर्वी रतुवामाई नगरपालिका ३ आमबारीलाई यसले जोड्छ । गौरीगन्ज गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा २ का वडाध्यक्ष श्रवण गिरीका अनुसार अहिले आफुहरुको ठूलो सपना र प्रतीक्षाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा सास्ती छ । 

अहिले पुरानो पुलको दायाँबायाँ पुल लम्ब्याउने काम भइरहेकाले अब केही समयमा पुल सुचारु हुनेमा आशावादी रहे पनि भर पर्ने अवस्था नरहेको गिरीले बताउनुभयो । बजेट अभाव हुने, निर्माण ब्यवसायीले समयमा काम नसक्ने र यसमा राज्यको चासो नजाने हो कि भन्ने चिन्ता सधैं रहिरहेको छ, उहाँले भन्नुभयो ।

हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुुुसार पुरानो डिजाइन अनुसार पुल निर्माण सम्पन्न भएको छ । २ सय ५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर आफूहरु मातहत आएको उहाँले बताउनुभयो । २ सय ७५ मिटर पुल आवश्यक देखिएको र २ सय ५ मिटरमात्र बनेकाले यसलाई सञ्चालन हुने अवस्था बनाउनेगरी थप २२ करोडमा पुल निर्माणको ठेक्का लागेको छ । 

२०८२ साल असार १७ गतेसम्ममा सम्पन्न गर्नुपर्ने निर्माण ब्यवसायीसँगको सम्झौतामा उल्लेख छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ कामको तीब्र रुपमा प्रगति भइरहेको छ र सम्झौताको ५ महिनामा ३० प्रतिशत काम पूरा भएको छ । अर्को दसैंमा सम्भवतः पुल पूर्णरुपमा सञ्चालनमा आउने अपेक्षा छ, उहाँले भन्नुभयो ।