• १२ साउन २०८१, शनिबार

नेपाल हङकङसँग पराजित

blog

काठमाडौं, कात्तिक ३० गते । चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । 

हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । 

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ । 

हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिनुभयो । उहाँले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिनुभएको हो । त्यस्तै शानजिन शहजादले २० रन बनाउनुभयो । मारिको हिलले ५ रन जोड्नुभयो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाउनुभयो । उहाँले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाउनुभएको हो । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

त्यसैगरी सीता रानामगरले ९ रन जोडिन भने रोमा थापाले ७ रन बनाउनुभयो । नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट हुनुभयो । सम्झना खड्कालाई नेपालले दोस्रो विकेटको रूपमा गुमायो । उहाँले एक रन जोड्दै आउट हुनुभयो । 

तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उहाँ रनको खाता नै नखोली पेभिलियन फर्किनुभयो । चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट हुनुभयो । 

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिनुभयो भने रुचिथा भेनकातेसले दुई विकेट झार्नुभयो । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिनुभयो । 

पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ ।