• २० वैशाख २०८१, बिहिबार

‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानमा सुधार

blog

नेपालगन्ज सफा राख्न जारी रहेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ३० गते । नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ । 

सरसफाइमा हरेक नागरिकलाई सहभागी गराएर नगरलाई सफा राख्ने उद्देश्यले केही समयअघि सञ्चालन गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले उपमहानगरको सरसफाइमा सुधार आएको बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जनाएको छ । 

बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपालप्रसाद गिरिले उपमहानगरले एक्लै नगरको सरसफाइ गर्न नसक्ने तथा सो कार्यमा हरेक नागरिकको पनि सहयोग र समर्थन आवश्यक परेको देखेर सुरु गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सफाइका लागि प्रभावकारी देखिएको बताउनुभयो । 

उहाँले सो अभियान अन्तर्गत नगरको टोली टोलमा पुगेर, पसलमा तथा कलकारखाना र घरहरूमा समेत डस्टविन वितरण गर्दै फोहर डस्टविनमै राखिदिन आग्रह गरिएकोमा अधिकांशले सोही प्रकार गरेको बताउनुभयो ।  

अध्यक्ष गिरिले नगरका अधिकांश पसल, होटल, सङ्घ संस्था, कलकारखाना र घरहरूमा डस्टविन वितरण गरेपछि फोहोर डस्टविनमा राख्ने चेतना बढ्दैगएको बताउनुभयो । 

यसअघि नेपालगन्ज उपमहानगरले पनि फोहोर व्यवस्थापनमा कडाइ गर्दै फोहोर जथाभाबी फाल्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । अधिकांश नगरवासीले आफ्नो फोहोरलाई जथाभाबी फाल्ने गरेकैकारण फोहोर व्यवस्थापनमा समस्या आउनेगरेको र नगरलाई सफा र स्वच्छ राख्न समस्या हुनेगरेको उपमहानगरपालिकाले जनाएको थियो ।

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभाबी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले समस्या ज्युँकात्यूँ रहने गरेको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाको सरसफाइ शाखाका प्रमुख प्रकाश डिसिले नगरलाई फोहोरमुक्त र सफा सहर बनाउने काममा ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले सहयोग गरेको बताउनुभयो ।