• ३ असार २०८१, सोमबार

महिला क्रिकेटः नेपाल तान्जेनियासँग पराजित

blog

तस्बिरः क्यान

काठमाडौं, कात्तिक २९ गते। चार देश सम्मिलित महिला टि–२० शृङ्खलाअन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो। जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। 

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिनुभयो। त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिनुभयो भने निमा पिइसले २  विकेट हात पार्नुभयो। त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक–एक विकेट लिनुभयो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  एक सय १५ रनको योगफल बनाएको थियो। तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाउनुभयो।

त्यस्तै ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११  तथा मोनिका पास्कलले १० रन बनाउनुभएको थियो। 

 बलिङतर्फ नेपालको लागि संगिता राईले दुई विकेट लिनुभयो भने रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिनुभयो।

आजदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्। 

नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्छ। 

शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ। शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार हङकङ गएको हो। 

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित उपकप्तान बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।