• ११ मंसिर २०८१, मङ्गलबार

बालहगृहमा सामुहिक भाइटीका आयोजना

blog

सामुहिक रुपमा बालगृहमा मनाइएको भाइटीका । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक २९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।

बालगृहकी कर्मचारी तथा दिदी कबिता चौधरीले २८ जना बालकलाई सामुहिक टीका र माला लगाएर भाइटीका मनाइएको छ । दिदीले भाइहरुलाई निधारमा सप्तरंगी टीका र माला लगाई सेलरोटी, फिनी मिठाई फलफूल दिएकी थिइन् । कबिता थारूले बालगृहका बालकलाई टीका लगाई आशिस समेत दिएकी थिइन । बालगृहमा रहेका भाइहरुलाई टीका र माला लगाउन पाएकोमा खुसी लागेको कबिताको भनाइ छ ।  

उहाँले बिगत ५ वर्षदेखि उनीहरुलाई यसरी नै भाइटीका लगाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालगृहमा सामुहिक रुपमा भाइटीका मनाउन पाउँदा निकै खुसी लागेको छ ।’ 

कार्यक्रमको आयोजनागरी सामुहिक रुपमा दिदीको हातबाट टीका ग्रहण गर्न पाउदा बालगृहका बालकहरु खुशी भएको बताएका छन् । दिदी कविताले भाइहरुलाई उपहार स्वरुप रुमाल समेत दिनुभएको छ । कपिलवस्तु नगरपालिका–९ जगदीशपुर घर भएकी कविताले बालगृहमा रहेका आफ्ना धर्म भाइहरुलाई टीका लगाई आफ्नो घरमा गई भाइलाई समेत टीका लगाएको बताउनुभयो ।  

नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले सामाजिक मूल्य र मान्यता, सामाजिक परम्परा तथा आफूहरुको संरक्षणमा रहेको र बाहिर गएका बाबुनानीको एकापसमा पारिवारिक नाता कायम राख्ने काममा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक चाड पर्वहरूमा हामी उनीहरूलाई खोज्छौं र उनीहरू पनि हामी र हाम्रा बाबुलाई सम्झेर आउने गर्दछन् ।’ 

दसै, रक्षाबन्धन, होली लगायत पर्वहरुमा समेत बालगृहमा सामुहिक रुपमा मनाउने गरिएको छ ।