• ६ माघ २०८१, आइतबार

मधेशमा मनाइँदै छ ‘भरदुतीया’ पर्व

blog

धनुषा, कात्तिक २९ गते । मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक  छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपियाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ । रासस