जीवछ यादव
लहान, कात्तिक २९ गते । दीपावली लगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी लहानका विसुन्के, डुम र मलाह समुदायलाई बाँसजन्य पूजा सामग्री बनउँदै बेच्दै फुर्सद छैन । पुर्खाको पेशाबाट राम्रो आम्दानी भइरहेको बताएका छन् ।
छठपर्वमा नाङलो (सुप), ढकिया र कोनियाँ छठ पर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिना अघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको लहान –१० गुँदीगाउँका राम विसुन्केले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षैभरिलाई गुजारा गर्न पुग्ने हुन्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन । नाङलोको माग भारतीय बजारहरुमा समेत भइरहेकाले वर्षभरीलाई गुजारा गर्न र बचत गर्न छठपर्व हाम्रो लागि निकै महत्पूर्ण छ ।’
अहिले प्रतिनाङ्लो बाँसको चोयाअनुसार सातसय, छसय, पाँचसय र चारसयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । लहान–१ की मिना र सीता मरिक (डुम) भन्नुहुन्छ, ‘हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ ५० रुपियाँको दरले बिक्री गरिरहेका छौं । छठपर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्छ ।’
लहान–२३ गढा र लहान–४ मा रहेका मलाह समुदायहरु यतिबेला बाँसको ढकिया बुन्दै बेच्दै व्यस्त रहेका छन् । लहान–२ घ का विनोद सहनीका अनुसार छठपर्व आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया लहान गोलबजार भगवानपुर भारतीय बजार लौकहा पुगाएर एक जना सहनी (मलाह) ले यस समयमा एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन् । छठ सकेपछि खासै काम हुँदैन । यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन् ।
लहान नगरपालिकाको मलाह, बिसुन्के र डुम समुदायले बाँसजन्य पुर्खयौली पेशाबाट र कुम्हार समुदायले माटोको वर्तन मुर्ति बनाएर राम्रो आर्थिक उपार्जन गर्ने गरेका छन् । यसलाई थप व्यावसायिक बनाउनेतर्फ लहान नगरपालिकाले अध्ययन गरिरहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । आउने दिनमा यसको बजार व्यवस्थापन बीउपुँजी र सीप सिकाउने तालिम दिइने उहाँको भनाइ छ ।