• ११ मंसिर २०८१, मङ्गलबार

देउसी भैलोमा च्याब्रुङ नाच प्रदर्शन

blog

च्याब्रुङ नाच प्रदर्शन गर्दै लिम्बू समुदायका देउसे भैलो टोली । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २९ गते । ताप्लेजुङमा तिहार (बलिहाङ तङ्नाम) को अवसरमा च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिएको छ । यहाँका लिम्बू समुदायले मौलिक संस्कृति संरक्षणको उद्देश्यसमेत राखेर देउँसी भैलोमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गरेका हुन् ।

सदरमुकाम फुङ्लिङसहित गाउँ–गाउँमा रहेका क्लब तथा समूहले तिहारमा च्याब्रुङ नाच प्रदर्शन गरेर देउसी भैलो खेलेका छन् । देउसी भैलो खेलेर सङ्कलन हुने रकमले सामाजिक कार्यका लागि सहयाेग पुग्ने र संस्कृति संरक्षणमा समेत टेवा पुग्ने अपेक्षासहित च्याब्रुङ नाचेर देउसी भैलो खेलिएको सम्बन्धित क्लबहरुका अगुवाले बताएका छन् ।

पछिल्लो समय सङ्कटमा पर्दै गइरहेको मौलिक संस्कृतिको संरक्षण गर्ने अवसरका रुपमा तिहारलाई सदुपयोग गरिएको किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखाका सल्लाहकार अमृतबहादुर इधिङ्गो लिम्बूले बताउनुभयो । संस्कृति संरक्षणमा सहयोग पुग्ने अपेक्षा राखेर तिहारमा च्याब्रुङ नाच प्रदर्शन गरी देउसीभैलो खेलिएको उहाँको भनाइ छ । 

तिहारकोमा च्याब्रुङ नाचसहित खेलिएको देउसी भैलोप्रति सबैको समर्थन रहेको किराँत याक्थुङ चुम्लुङका सदस्य केबी लाबुङ लिम्बूले बताउनुभयो । हराउँदै गएको मौलिक संस्कृतिको पूनर्जागरण भएकोभन्दै देउसी भैलोमा नाचिएको च्याब्रुङ नाचमा लिम्बू समुदायलगायत सबैको समर्थन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार च्याब्रुङ नाचमा नयाँ पुस्ताको आकर्षण पनि बढ्दैगएको छ ।