• ७ जेठ २०८१, सोमबार

नेपाल संवतको अवसरमा मोटरसाइकल र्‍याली

blog

नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा निकालिएको मोटरसाइकल र्‍याली । तस्बिर : सौजन्य : रुपक श्रेष्ठ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २८ गते । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्‍याली निकालिएको छ ।

बाँकेमा क्रियाशील नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा मङ्गलबार बिहान शुभकामना आदानप्रदान र मोटरसाइकल र्‍याली निकालिएको हो ।

स्थानीय गणेशमान चोकबाट सुरु भएको र्‍याली नेपालगन्जको विभिन्न चोकहरुसहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमापछि भृकुटीनगरमा पुगेर समापन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले उद्घाटन गरेर सुरु भएको र्‍याली नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रिप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

र्‍यालीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुखसहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो । नेपालगन्जको नगर परिक्रमाका क्रममा टोल टोलमा स्थानीयले र्‍यालीको स्वागत गरेको रुट व्यवस्थापन संयोजक दिपेन्द्रकुमार जोशीले बताउनुभयो ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष नभएर सम्पूर्ण नेपालीको भएको बताउनुभयो ।