• ४ जेठ २०८१, शुक्रबार

नेपाल संवतको अवसरमा बेनीमा प्रभातफेरी

blog

प्रभातफेरी कार्यक्रममा सहभागीहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक २८ गते । नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मङ्गलबार प्रभातफेरी गरिएको हो । 

प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिले पनि सहभागिता जनाएका थिए । बेनीको सङ्गमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमापछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले नेपाल संवत सवै जातजातिको गौरवको विषय भएकाले सबै मिलेर यसलाई हर्षोल्लासका साथमा मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्ने हिसाबमा नेवार समुदाय अग्रस्थानमा रहेको उहाँले बताउनुभयो । नेपाल संवत राष्ट्रिय संवतका रुपमा सरकारले पनि घोषणा गरिसकेकाले बेनीमा रहेका नेवार समुदायले पनि सवै जातजातिलाई समावेश गरेर नेपाल संवत् मनाउनु उदाहरणीय भएको मन्त्री जुग्जालीको भनाइ छ । 

शुभकामना आदानप्रदान कार्यक्रममा संविधानसभाका सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासङ्घ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले नेपाल संवतलाई सबैको साझा पर्वका रुपमा मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी नेवार समुदायबाट  विभिन्न क्षेत्रमा उत्कृष्ट हुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।