• ७ जेठ २०८१, सोमबार

देउसी भैलो खेल्दै सेना

blog

जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा नेपाली सेनाको देउसी भैलो कार्यक्रम । तस्बिर: पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेलधुरा, कात्तिक २८ गते । नेपाली सेनाले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रण बम गणले जिल्ला सदरमुकाम बागबजारमा देउसी–भैलो खेलेको हो ।

अमरगढी नगरपालिका–५ स्थित बागबजारको बसपार्कमा नेपाली सेनाले नेपाली देउसी भैलो संस्कृति झल्काउने उद्देश्यका साथ देउसी–भैलो कार्यक्रमको आयोजना गरेको गणका गणपति प्रमुख सेनानी प्रवीण थापाले बताउनुभयो । तिहारको पाँच दिन धूमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भए पनि पछिल्ला दिनहरूमा मौलिक भैलो हराउँदै गएको छ ।

पुरानो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको गणपति एवं प्रमुख सेनानी थापाले बताउनुभयो । नेपाली सेनाका जवानहरूले नेपाली पोसाक दौरा–सुरुवाल र ढाका टोपी, चोलो, पटुकीसहित आकर्षक पोसाकमा सजिएर देउसी भैलो भट्ट्याउनै खेल्नुभएको थियो । 

देउसी–भैलो कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयहरुकाे उपस्थिति थियो ।