• २० वैशाख २०८१, बिहिबार

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्मरणीय : प्रधानमन्त्री दाहाल

blog

काठमाडौँ, कात्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतकाे प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतकाे प्रवर्तकका रूपमा रहनुभएको बताउनुभयो ।

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्‍याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको जनाउनुभएको छ । 

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवतकाे मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।