चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङवासी यतिबेला टिपताला नाका सञ्चालनको प्रतिक्षामा रहेका छन् । कोरोना भाइस (कोभिड–१९) महामारीपछि बन्द रहेको नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको टिपताला नाका सञ्चालनको प्रतिक्षामा जिल्लाबासी छन् ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाको उत्तरतर्फ २५ किलोमिटर दूरीमा टिपताला नाका छ । उक्त टिपताला नाका कोभिड महामारीसँगै करिव चार वर्षयता बन्द रहेको छ । महामारीको असर सामान्य बनेको वर्ष दिन बित्दासमेत हालसम्म नखुलेको टिपताला नाका सञ्चालनको पर्खाइमा ताप्लेजुङवासी छन् ।
अहिलेसम्म टिपताला नाका खुला नहुँदा फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको फले, घुन्सा तथा वडा –७ ओलाङ्चुङगोला र याङ्माका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । लामो समयसम्म नाका बन्द भएका कारण खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु आयात तथा स्थानीय उत्पादनका ब्यापारजन्य सामग्री निर्यात गर्दैआएका यस क्षेत्रका बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।
ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दाले उपभोग्य वस्तुलगायत आवश्यक सामग्री न्युन लागत र ढुवानी खर्चमा तिब्बतको रिउ बजारबाट आयात गर्दैआएका थिए । यताबाट गलैँचा, छुर्पी, याक र चौंरीजस्ता पशुचौपाया रिउबजार लगेर बिक्री गर्नेगरेका थिए । टिपताला नाका बन्द भएसँगै तिब्बतको रिउबाट आवश्यक सामग्री आयात तथा यहाँको वस्तु निर्यात गरी दोहोरो व्यापारिक कारोबार हुने गरेकोमा हाल त्यो अवस्था ठप्प भएको छ ।
टिपताला नाका बन्द भएपछि ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दाले सदरमुकाम फुङ्लिङ हुँदै उपभोग्य लगायतका आवश्यक वस्तुहरु लैजाने गरेका छन् । यहीँको सामग्री खरिद तथा ढुवानीमा दोब्बर बढी खर्च हुनेगरेको स्थानीयको भनाइ छ । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी दावाफुटी शेर्पाका अनुसार खरिद मूल्यभन्दा ढुवानी खर्च बढी लाग्ने हुँदा यहाँको सामान महङ्गो पर्नेगरेको छ ।
फुङ्लिङदेखि लेलेपको इलाडाँडासम्म यातायात सञ्चालन हुनेभएकाले गाडीको ढुवानी खर्च प्रतिकिलोग्राम ६ रुपियाँ र इलाडाँडादेखि ओलाङ्चुङगोलासम्म भरियामार्फत सामान ढुवानी गर्दा प्रतिकिलोग्राम ६० रुपियाँ लाग्ने शेर्पाले बताउनुभयो । गाडीमा ढुवानी गरेको ६ रुपियाँ र भरियामार्फत ढुवानी गरेको ६० रुपियाँसमेत ओलाङ्चुङगोला सामान पुगाउँदा प्रतिकिलोग्राम ६६ रुपियाँ ढुवानी खर्च मात्र लाग्नेगरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, याङ्मा सामान पुगाएको ढुवानी खर्च प्रतिकिलोग्राम ७५ देखि ८० रुपियाँसम्म पर्नेगरेको स्थानीय ताम्लिङ शेर्पाले बताउनुभयो । त्यसैगरी फुङ्लिङदेखि फलेसम्मको ढुवानी खर्च प्रतिकिलोग्राम ७० देखि ९० रुपियाँसम्म पर्नेगरेको छ । घुन्सासम्मको ढुवानी खर्च प्रतिकिलोग्राम ८० देखि १०० रुपियाँसम्म कायम रहेको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । खच्चरमार्फत सामान ढुवानी गरेमा प्रतिकिलोग्राम २० रुपियाँसम्म खर्च कम अर्थात सस्तो पर्ने पनि उहाँले जानकारी दिनुभयो ।
यता टिपताला नाका खुला भइदिए हिमाली भेगका बासिन्दालाई सहज हुने ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । यातायातको सुविधा नभए पनि नाका खुला भइदिएमा रिउ बजारबाट आवश्यक सामग्री आयात गरिने र लागत रकम यताको भन्दा आधा नै सस्तो पर्ने वडाध्यक्ष शेर्पाको भनाइ छ ।
नाका खुला भएको अवस्थामा ओलाङ्चुङगोलासहित हिमाली उक्त चार स्थानका बासिन्दाले याक र चौंरीलाई बोकाएर सामान ढुवानी गर्ने गरिन्छ । कोभिडका कारण टिपताला नाका बन्द हुनु अघिसम्म आयात तथा निर्यातका सामग्री याक र चौंरीमार्फत नै ढुवानी हुनेगरेको थियो । नाका बन्द भएपछि नेपाली बजार अर्थात यहीँको सामान ढुवानी गर्नलाई एकमात्र विकल्प भरिया भएको स्थानीयहरु बताउँछन् ।
यसरी सबैभन्दा बढी सामग्री ढुवानी खर्च महङ्गो पर्ने भएकाले हिमाली भेगका बासिन्दा प्रत्यक्ष मारमा छन् । महङ्गीको मार्कामा परेका यहाँका बासिन्दाको एउटै मात्र चाहाना टिपताला नाका खुलोस् भन्ने रहेको छ । टिपताला नाका सञ्चालनको प्रतीक्षा पूरा हुने दिन कुर्दै बसेका हिमाली भेगका बासिन्दाको दैनिकी दिनदिनै समस्यामा पर्दैगएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले बताउनुभयो ।
यहाँका महिलाले अँगाल्दै आएको गलैँचा बुन्ने मुख्य पेशा पनि छोड्दै गएका छन् । गलैँचाका लागि धागोलगायतका कच्चा पदार्थ पाइने र गलैँचाको मुख्यबजार रिउ भएकाले नाका बन्द भएपछि पेशा छोड्नुपरेको स्थानीय महिला बताउँछन् । ओलाङ्चुङगोलाकी स्थानीय दावाफुर्टी शेर्पाले कच्चा पदार्थको अभाव र गलैँचाको बजार नभएपछि पेशा छोड्न बाध्य हुनुपरेको बताउनुभयो ।
यता टिपताला नाका सञ्चालनका लागि पहल भने निरन्तर हुँदैआएको छ । गत असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा पनि टिपताला नाका खुलाउनुपर्ने विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला नाका चाँडै खुलाउने सन्दर्भमा सकारात्मक छलफल भएको भन्ने त्यसबेला चर्चा थियो ।
जिल्लाबासीको तर्फबाट पनि टिपताला नाका खुलाउने विषयमा पहल हुँदैआएको छ । टिपताला नाका रहेको फक्ताङ्लुङ गाउँपालिकाको तर्फबाट निरन्तर पहल भइरहेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले तिब्बतको डिङ्जे काउन्टी सरकारसँग नाका खुलाउने विषयमा सम्वाद भइरहेको बताउनुभयो । निरन्तरको सम्वादअनुसार नाका चाँडै सञ्चालन हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको टोलीले पनि नाका खुलाउनमा दबाब सिर्जना गर्ने उद्देश्यसहित भर्खरै टिपताला क्षेत्रको भ्रमण गरेको छ । जिल्लाका अग्रज पत्रकारसहितको भ्रमण टोलीले डिङ्जे काउन्टी इलाकाका जनप्रतिनिधि पदाधिकारी लगायतसँग टिपतालामा भेटगरी नाका खुलाउन पहल गरिदिन आग्रह गरिएको महासङ्घका शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।