• ५ जेठ २०८१, शनिबार

निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम थालियो

blog

फाइल तस्बिर

चितवन, कात्तिक २४ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एकसिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसे मैदान व्यवस्थापनको काम थालिएको हो ।

तराई भूपरिधि कार्यक्रमको सहयोगमा निकुञ्जभित्रको ६२ हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापनको काम थालिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुखिभार र भिम्ले क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम थालिएको छ । सात लाखको लागतमा सो काम सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जभित्रको तीन सय हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापनको काम थालेको छ । कोषको सौराहा कार्यालय प्रमुख रचना शाहका अनुसार तीन सय हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्रका ३० ठाउँमा काम गरिँदै छ । दसैँ सकिएसँगै काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाँसे मैदान व्यवस्थापनका क्रममा त्यहाँ रहेका विभिन्न किसिमका बोटबिरुवाको अध्ययन अनुसन्धान गरिँदै छ । निकुञ्जको आफ्नै स्रोतबाट चालु आर्थिक वर्षमा तीन सय ७० हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । सूचना अधिकारी तिवारीका अनुसार ४० लाख ७० हजारमा बोलपत्र स्वीकृत भई काम सुरु गर्ने तयारी गरिएको हो ।

निकुञ्जभित्रको जिप सफारी हुने बाटो आसपासका क्षेत्र, खुल्ला चौरहरु, तालका छेउहरु, सुखिभार क्षेत्र, सौराहा प्रवेश गर्ने कछुवानी क्षेत्रलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्र १० हजार हेक्टर घाँसे मैदान छ । तीमध्ये मुस्किलले एक हजार हेक्टरमात्र व्यवस्थापन गर्न सकिएको तिवारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कोभिड अघिसम्म घाँसेमैदानमा तीन करोडभन्दा बढी खर्च गर्ने गर्थ्याैं । अहिले एक करोड खर्च गर्न पाएका छैनौँ ।” नियमित घाँसे मैदानको व्यवस्थापन गर्न नसक्दा निकुञ्जभित्रका दुर्लभ एकसिङ्गे गैँडा र बाघका आहारा प्रजाति जरायोसहित मृग प्रजाति प्रभावित भएका छन् । निकुञ्जभित्र उपयुक्त घाँसे मैदान नभएमा गैँडा बस्ती छिरेर दुः ख दिने गर्दछ । 

घाँसे मैदान व्यवस्थापनको बजेट कटौती हुँदा यसको असर मध्यवर्तीका बासिन्दामा हुने गरेको छ । निकुञ्जले अग्ला ढड्डी र घाँस काटेर, ट्र्याक्टरले जोतेर र नियन्त्रित आगो लगाएर घाँसे मैदानको व्यवस्थापन गर्दै आएको छ । रासस