भावना जोशी
अत्तरिया (कैलाली), कात्तिक २३ गते । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको बिहीबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
आज बिहान कुर्सीमा बसिरहेको अवस्थामा बेहोस भई ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको र पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता चन्दले बताउनुभयो । कुटपिटको अभियोगमा गत सोमबार प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी घटनाबारे अनुसन्धान गरिरहेको थियो ।
कुनै दीर्घकालीन रोग नभएको कृष्णको मृत्यु भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न मृतकका दाजु गणेश रोकायाले माग गर्नुभएको छ । ‘२२ गते थुनुवा कक्षमा रहेका कृष्णलाई कपडासमेत दिएर गएका थियौँ’, उहाँले भन्नुभयो, ‘आज २३ गते मृत्यु भएको भनेर प्रहरीबाट जानकारी आयो । भाइको मृत्युबारे चाँडो हामीलाई जानकारी चाहियो ।’