• ३१ जेठ २०८१, बिहिबार

भूकम्पपीडितको उद्धारमा उपसेनानीको अनुभव

‘छेपारे गाउँपुग्दा सग्लो घर थिएन’

blog

घाइतेको उद्धार र उपचारमा खटिनुभएकी नेपाली सेनाको उपसेनानी दुर्गा केसी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

“एउटा बच्चा असाध्यै छटपटाइरहेको थियो । अवस्था झन् गम्भीर बन्दै थियो । छिटो पठाउन सकिए बच्चाको ज्यान बच्ला भन्ने सोची बोकेर अस्पताल लगेका थियौँ ।” 

रुकुमपश्चिम, कात्तिक २३ गते । जाजरकोटमा गएको भूकम्पले निम्त्याएको विपद्ले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गरेको छ । भौगोलिक रूपले विकट अति प्रभावित क्षेत्र आठविसकोटमा भूकम्पलगत्तै पुगेको नेपाली सेनाले खोज, उद्धार र उपचारमा अब्बल भूमिका खेलेको छ । 

जिल्लास्थित नेपाली सेनाको चण्डिदल गणबाट उपसेनानी (लेफ्टिनेन्ट) दुर्गा केसीको कमाण्डमा भूकम्पपश्चात् फिल्ड अध्ययन गरेको थियो । लेफ्टिनेन्ट केसीले घाइते बच्चा र महिलालाई बोकेर उद्धार गरेको फोटोले सामाजिक सञ्जालमा समेत सम्मान पाइरहेको छ । 

भूकम्पपश्चात् राति नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आह्वान भएपछि ठुलै क्षति भएको अनुमान गरेर राति नै ३४ जना सैनिक लिएर आफू फिल्डमा गएको सहसेनानी केसीले बताउनुभयो । 


भूकम्प गएको क्षण सम्झँदै केसीले भन्नुभयो, ‘छेपारे गाउँपुग्दा सङ्लो घर थिएन । सबै घर मकै ढलेजसरी ढलेका थिए । सडक छेउमा शवहरू थिए । हामी अलि छिटो पुगेको भए, धेरै घाइतेलाई बचाउन सक्थ्यौँ ।’

पिपलचौर पुगेपछि एक टिमले घाइतेहरू र मृतकका शवलाई घरभित्रबाट निकाल्दै अस्पताल पठाउन थालेको थियो । त्यसपछि ज्यामिरकोटतिर एक टोली पठाएर आफू नगरपालिकाको केन्द्रमा रहेको नगर अस्पताल गएको उहाँले बताउनुभयो । 

सहसेनानी केसीले भन्नुभयो, ‘अस्पताल पुगेर सिकिस्त घाइतेहरूलाई थप रेस्क्यु गर्नको लागि हेलिकप्टर आयो ।  तीन जनालाई हेलिमार्फत उद्धार गरेर सुरुमा तीनजनालाई सुर्खेत पठायौँ । अस्पतालबाट हेलिप्याडसम्म लैजाने स्ट्रेचर थिएन ।’

घाइतेहरूलाई थप केही नहोस्, छिटो अस्पताल पठाउन सकियोस् भन्ने सोचेको भए पनि आवश्यक सामग्रीको अभावमा समस्या भएको उहाँले बताउनुभयो । “एउटा बच्चा असाध्यै छटपटाइरहेको थियो । अवस्था झन् गम्भीर बन्दै थियो । छिटो पठाउन सकिए बच्चाको ज्यान बच्ला भन्ने सोची बोकेर अस्पताल लगेका थियौँ” उहाँले भन्नुभयो । 


केही समयपछि नगरप्रमुख, वडा अध्यक्षहरूसँग समन्वय गरेको उहाँले बताउनुभयो । करिब १०२ जना घाइतेको उद्धार र १३ जनाको शव खोजेर अस्पताल लगेको उहाँको भनाइ छ । “देश र जनताको सेवाका लागि सधैँ समर्पित हुने कसम आएका हामीले विपद्का बेला सेवा गर्न तल्लीन रह्यौँ । खासमा मेरै स्वास्थ्य अवस्था ठीक थिएन, तर पनि उद्धारमा सकेजति खट्यौँ” उहाँले भन्नुभयो, “घाइतेहरूको दर्दनाक अवस्था  देखेर मैले आफ्नो पीडा बिर्सिएँ । महिलालाई महिलाले उद्धार गर्दा अलि सहज भन्ने सोचले म आफै महिला र बालबालिकालाई प्राथमिकतामा राखेर उद्धारमा लागेकी थिएँ ।”