• १८ मंसिर २०८१, मङ्गलबार

अर्थोपेडिक अस्पतालमा ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया

blog

घुँडाको शल्यक्रिया गरेका बिरामी हिँड्ने प्रयास गर्दै ।

काठमाडौं, कात्तिक २६ गते । काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालले ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको अप्रेसन वाल्क सिकागोको सहयोगमा आएका विशेषज्ञ डाक्टरसहितको ४० जना चिकित्सकको टोलीले घुँडाको शल्यक्रिया गरेको हो । 

नेपाल अर्थोपेडिक अस्पतालका प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार अस्पतालमा टोलीले पाँच दिनमा ३९ जनाको ४३ वटा घुँडाको  शल्यक्रिया गरिएको छ । शल्यक्रिया सबैभन्दा जटिल विरामीको गरिएको छ । सोमबारबाट बिहीबारसम्म शल्यक्रिया गरिएको थियो । लामो समयदेखि घुँडा खिइएर शल्यक्रियाका लागि तयारी गरिएका विरामीको मात्रै टोलीले नयाँ घुँडा फेरेको हो । 

चार पाँच महिना अगाडिदेखि शल्यक्रियाको तयारी गरेका बिरामीको मात्रै शल्यक्रिया हुने जानकारी मैनालीले दिनुभयो । 

अधिकृत मैनालीले भन्नुभयो,“नेपालमा एउटा घुँडा फेरेको सरदर चारदेखि पाँच लाख रुपियाँ लाग्छ । यो एकदमै महँगो हो । अस्पतालमा हाडजोर्नी र शारीरिकरुपमा अपाङ्गता भएका सबै खालका बिरामीहरुको उपचार सम्भव रहेकाले अस्पतालमा अमेरिकाको विशेषज्ञ टोली आउँदा बिरामीहरुलाई अझ सहुलियत हुनेछ । अमेरिकी टोलीले शल्यक्रिया गर्दा बिरामीलाई आवश्यक पर्ने सामग्री, औषधीसहित टोलीले लिएर आउँछ । उहाँहरुसँग शल्यक्रिया गराउँदा हरेक बिरामीले एक लाख ७५ हजारसम्म खर्च व्यहोर्नुपर्ने हुन्छ ।”

“अस्पतालको सेवालाई थप गुणस्तरीय र विस्तारित बनाउँदै लैजाने संस्थाको उद्देश्य रहेकाले अर्थोपेडिक अस्पताल गैर नाफामुखी अस्पताल हो, जसको अभिप्राय धेरैभन्दा धेरै बिरामीले सहुलियतमा दरमा सेवा पाऊन् भन्ने हाम्रो अपेक्षा छ । अहिले स्वास्थ्य सेवा शुल्क एकदमै बढेर गएको छ । अर्थोपेडिक अस्पतालले घुँडा फेर्नुपर्ने सबै शल्यक्रिया गर्ने गरेको छ ।” मैनालीले थप्नुभयो । 


काठमाडौंको जोरपाटीको अर्यालटारका ८० वर्षीय ध्रुव अर्याल अस्पतालमा लठ्ठी टेकेर यताउता हिँडिरहनुभएको थियो । उहाँले घुँडा फेरेको पाँच दिन भयो, राम्ररी हिँड्न सक्छु भन्नुभयो । अर्यालले भन्नुभयो, ‘‘टोलीको उपचार गर्ने शैली निकै व्यवस्थित र राम्रो लाग्यो । उनीहरूले गर्ने व्यवहार झनै स्मरणीय रह्यो ।’ 

चार वर्षअघि एउटा घुँडा फेरेर अर्को घुँडा पनि फेर्नुभएका बिरामीले पनि पुनः अर्को घुँडा फेर्नुभएकाे छ । उहाँहरूले पहिलाको राम्रो भएर फेरि फेरेको जानकारी दिनुभयो । 

घुँडा फेरेपछि नियमितरुपमा व्यायाम गर्नुपर्ने र त्यसले सहजरुपमा हिँड्न सकिने, दुःखाइ नहुने अनुभव सुनाउनुभयो । 

२०५५ सालमा स्थापना भएको खगेन्द्र नवजीवन केन्द्र अपाङ्ग अस्पताल अहिले नेपाल अर्थोपेडिक अस्पतालका रुपमा सञ्चालनमा रहेको छ । नेपाल अपाङ्ग सङ्घले शारीरिक रुपमा अपाङ्गता भएका बिरामीको पुनर्स्थापना र उपचार गर्ने उद्देश्यले अस्पतालको सुरुवात भएको हो ।

वार्षिक दुईदेखि अढाई सय बिरामीले यो अस्पतालबाट सेवा लिने गरेका छन् । अस्पतालमा दिनको १० देखि १५ वटा शल्यक्रिया हुँदै आएका छन् । अहिले पनि बर्दिबासमा शिविर चल्दैछ । योभन्दा पहिले रोल्पामा ६२ जनाको निः शुल्क शल्यक्रिया गरिएको थियो । अस्पतालले ३६ वटा दुर्गम ठाउँमा  शिविर सञ्चालन गरी शल्यक्रिया गरिसकेको अधिकृत मैनालीले बताउनुभयो । 

अस्पतालले अति आवश्यक सामानहरुको व्यवस्थापन गर्दै २५ औँ वर्ष पार गरिसकेको छ । यसैबीच, अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा अमेरिकाबाट आएका चिकित्सकहरूलाई सम्मानित गरिएको थियो । यो टोलीले १३ वर्षदेखि नेपालमा आएर घुँडाको शल्यक्रिया गर्दै आएको छ ।