• १६ वैशाख २०८१, आइतबार

जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, कात्तिक २३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसाेसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जानकारी दिनुभयो । उहाँले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।

अर्थमन्त्री महतले विश्व बैङ्क र एडिपीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो । उहाँले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिनुभयो । अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गर्नुभयो । उहाँले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताउनुभयो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्‍याएको जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठुलो चुनौती भोगिरहेको बताउनुभयो । उहाँले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनुभयो । उहाँले डिजिटल बैङ्किङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो ।