भावना जोशी
अत्तरिया (कैलाली), कात्तिक २३ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि धनगढी उपमहानगरपालिकाले बिहीवार खाद्यान्न सहयोग गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपमहानगरले ६ लाख ३५ हजार रुपियाँ बराबरको सय क्विन्टल चामल पठाएको धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा उपमहानगरका जनप्रतिनिधिको टोली राहत लिएर बिहीबार कर्णाली प्रदेश गएको छ ।
उक्त सामग्री उपमहानगरको टोलीले सुर्खेतमा कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर प्रमुख हमालले बताउनुभयो । राहत लिएर गएको टोलीलाई नगरप्रमुख हमालले आज बिहीवार बिदाइ गर्नुभएको थियो । उपमहानगरको बिहीबार बसेको २८ औँ कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाउने निर्णय गरेको थियो ।
बैठकले भूकम्पबाट ज्यान गुमाएकाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । उपमहानगरको विपत् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितलाई राहत वितरण गर्न सरकारले बनाएको एकद्वार प्रणालीमार्फत उक्त खाद्यान्न वितरणका लागि राहतसहित उपमहानगरको टोली पठाएको बताउनुभयो ।