• १६ वैशाख २०८१, आइतबार

अर्थतन्त्र लयमा ल्याउन बैङ्किङ क्षेत्रको योगदान अतुलनीय : गभर्नर अधिकारी

blog

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।

काठमाडौं, कात्तिक २३ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा भएको ३९ औँ एसियन बैंकर्स एसाेसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको सङ्कट असर, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठुला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्वटेबल रहेको बताउनु भयो ।

उहाँले कोभिड–१९ महामारीले बैङ्किङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैङ्किङ क्षेत्रको सहयोग र राष्ट्र बैङ्कको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैङ्कको सहकार्यमा काेरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताउनु भयो । उहाँले राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र सङ्कटबाट बचाउन सकिएको जानकारी दिनुभयो । उहाँले बैङ्किङ प्रणालीले सबै सङ्कटहरू समाधान गर्दै आएकाले नेपालको बैङ्किङ क्षेत्र सुरक्षित रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले नेपाली बैङ्कहरूले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताउनु भयो । उहाँले यतिबेला विश्व बजारका बैङ्किङ क्षेत्रमा ठुलो चुनौती देखिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा मुद्रास्फीति बढिरहेको र विभिन्न मुलुकहरूले महँगीको सामना गरेको बताउनु भयो । उहाँले बैङ्किङ क्षेत्रले पुँजी निर्माणमा महत्त्वपूर्ण काम गरेको भन्दै दक्षिण एसियामा वित्तीय पहुँच बढ्दै गएको बताउनु भयो ।