राजन रावत
हुम्ला, कात्तिक २३ गते । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–३ को श्रीनगर स्वास्थ्य चौकी नजिक बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । उक्त गाउँपालिका– ५ को बारीगाउँबाट गाउँपालिका केन्द्र अदानचुलीमा सामान ढुवानी गर्ने क्रममा कर्णाली प्रदेश ०२००१ ज ००१६ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।
श्रीनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रैभान ऐडीले श्रीनगरमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएको बताउनुभयो । घाइते हुनेमा चालक मुगु जिल्ला निवासी २४ वर्षीय दीपेन्द्र लुवार र अर्का यात्रु विनराज जैसी रहनुभएको छ ।
प्रहरी नायब निरीक्षक ऐडीले चालक लुवारको टाउको, हात र छातीमा छोट लागेकाले स्वास्थ्य चौकीमा उपचार भई रहेको बताउनुभयो । अर्का यात्रु जैसी सामान्य घाइते भएको र उपचारपछि घर पठाइएको छ । घाइते चालक लुवारको छातीमा चोट लागेको कारण उपचारका लागि जिल्ला बाहिर लिने तयारी भइरहेको छ ।