• १२ मंसिर २०८१, बुधबार

हिमालपारिको गाउँ लिमीमा आँखा शिविर

blog

आँखाको शल्यक्रिया पछिका ज्येष्ठ नागरिक र आँखाको उपचार हुँदै । तस्बिर: गोरखापत्र

राजन रावत

हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतियाबिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नुभएको हो । 

लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोर्ख भण्डारीले विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा दश जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया सफल भएको र अन्य ६३ जनाको आँखाको उपचार भएको बताउनुभयो । शल्यक्रिया गरिएका ज्येष्ठ नागरिकहरू भने यसअघि आँखा नदेख्ने अवस्थामा रहेकोमा यस पटकको शिविरपछि आँखा दान पाएको उहाँले बताउनुभयो ।

त्यसैगरी ५६ जना अन्य रोगका बिरामीहरुको उपचार शिविरका क्रममा भएको उहाँले बताउनुभयो । शिबिरसंगै लिमी पुग्नु भएका गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यसअघि दुई पटक लिमीमा आँखा शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको भए पनि हिमपातले गर्दा नसकिएको तर यस पटक कात्तिक महिनामा लक्ष्य पूरा भएको बताउनुभयो । उहाँले सहजै कोही पनि आउजाउ गर्न सम्भव नहुने लिमीमा वर्षौँदेखि आँखाको रोगको समस्या भोग्दै आएका ज्येष्ठ नागरिकहरूको समाधान भएको बताउनुभयो ।