• १३ असोज २०८१, आइतबार

राहत कोषमा करिब छ करोड जम्मा

blog

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो । 

भूकम्पपीडितलाई राहत सहयोगका लागि सरकारले देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार मङ्गलबारसम्म बैङ्कमा पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको थियो । विभिन्न कार्यालयले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको चेक सम्बन्धित बैङ्कमा पठाइसकिएको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायले चार करोड रुपियाँ सहयोग गरेका छन् । बुधबार बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोषलगायतले उक्त रकम सहयोग गरेका हुन् ।

मङ्गलबार बुद्ध एयरको एक करोड, मीनबहदुर गुरुङको एक करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शन प्रालिबाट १५ लाख र अन्य १४ लाख ३६ हजार गरी दुई करोड ३० लाख ४७ हजार रुपियाँ जम्मा भएको थियो । 

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका अनुसार २०७२ सालको भूकम्पमा विभिन्न सङ्घ संस्थाबाट सात अर्ब १७ करोड, ६७ लाख ६८ हजार ६७९ रुपियाँ सहयोग सङ्कलन भएको थियो । अर्थ मन्त्रालयबाट निकासा सहयोग १६ अर्ब ६४ करोड ९६ लाख १० हजार रुपियाँसहित २४ अर्ब ३३ करोड ७९ लाख ४४ हजार २८२ रुपियाँ कोषमा जम्मा भएको थियो । जसमध्ये २२ अर्ब ७८ करोड ४२ लाख १० हजार रुपियाँ गृह मन्त्रालयमार्फत निकासा भएको थियो ।