प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २२ गते । कर्णाली करिडोर अन्तर्गत लालीघाट बजारमा होटल व्यवसाय गर्दै आउनुभएका एक होटल ब्यबसायीको भिरबाट लडेर ज्यान गएको छ । पलाँता गाउँपालिका ९ थिर्पू स्थाई घर भएका बर्ष ४९ का होटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको हो ।
नरहरिनाथ गाउँपालिका १ मा पर्ने जितेमा माछा मार्न थापेको पासो निकालेर फर्किने क्रममा बुधबार बिहान भीरमा चिप्लिएर लडेका बमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक पोषण थापाले मृतकको शव पोस्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मान्मा ल्याइएको बताउनुभयो । दश वर्षदेखि होटल व्यवसाय गर्दैआउनुभएका वमका श्रीमती, ३ छोरा र २ छोरी छन् ।
यसैबीच, गएको असोज २८ गते तिलागुफा नगरपालिका वडा नं ६ भैँसेगौडामा काठे पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ताका युवाको शव फेला परेको छ । नेपालगन्जवाट घर जाँदैगर्दा पुलवाट चिप्लीएर बेपता हुनु भएका तिलागुफा नगरपालिका ९ चिल्खायाका २२ वर्षीय अर्जुन उपाध्ययाको शव २३ दिनपछि फेला परेको हो ।
मंगलबार विहान माछा मार्न गएका स्थानीयले लाश देखेर प्रहरीलाई खबर गरेका थिए । दसैंअघि नदीमा बेपत्ता भएका उपाध्यायको परिवारले यसअघि नै काजकिरिया गरिसकेकाले वडाध्यक्षको रोहवरमा आफन्तले लाशको सनाखत गरेर बालीघाटमा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।