शेरबहादुर राई
ओखलढुङ्गा, कात्तिक २२ गते । तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी भएको छ ।
जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं.६ मंसिरेमा कर्मा शेर्पाका छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी भएको हो । आगलागीमा परी कर्माका १५ महिने छोरा फुर्वा शेर्पा बेपत्ता भएका छन् ।
कर्मा शेर्पा र उहाँकी श्रीमती घरमा नभएको समयमा मिङ्मारले लाइटर खेलाउँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताउनुभयो ।
घरमा शेर्पाका दुई छोराहरु मात्र भएको समयमा आगलागी भएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । आगलागीमा बेपत्ता भएका शेर्पाका १५ महिने बालक फुर्वाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगालगीबाट ढुङ्गा माटोले बनेको, ढुङ्गाको छाना भएको दुई तले घर, घरमा रहेको काठपात, भाँडावर्तन, अन्नपात, लत्ता कपडा जल्दा करिब १५ लाखभन्दा बढी क्षति भएको दाबी छ ।