• २७ वैशाख २०८२, शनिबार

पाँचवटा मन्त्रालयको सङ्गठन संरचना स्वीकृत

blog

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ मन्त्री परिषद् बैठकका निर्णय सुनाउनु हुँदै । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

बागमती प्रदेशको बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको मन्त्री परिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका १२ मन्त्रालयमध्ये पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रीपरिषद् बैठकले पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको छ ।

बागमती प्रदेश मन्त्री परिषद् बैठक तीनजनालाई अधिकृतस्तर ११ तहमा बढुवामा बढुवा गरी विभिन्न कार्यालयमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्री श्रेष्ठले बैठकबाट सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्ष घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो । साथै बैठकले भूकम्पपीडित राहतका लागि कर्णाली प्रदेश सरकारलाई बागमती प्रदेश एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।