• ६ जेठ २०८१, आइतबार

एमालेले तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने

blog

काठमाडौं, कात्तिक २२ गते । नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको एमाले सचिवालय बैठकले यसको सान्दर्भिकता एवम् सन्देशका विषयमा छलफल गरेर सो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सो अभियानमा विकास गाउँमा पुगे पनि त्यहाँका नागरिक तराई एवम् शहर हुँदै विदेशमा बसोबास गर्ने विषयमा संवाद हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल हिमाल, पहाड र तराइ तीनवटा संरचनाले बनेको मुलुक हो । जैविक विविधता, पशुपालन, जलस्रोतको भण्डार, सांस्कृतिक विविधता, पहाडी क्षेत्रको विकासको सन्दर्भमा महत्वपूर्ण योजनाहरु अगाडि बढाइएको छ । सबै कुरा हाम्रो योजनाभित्रका विषय हुन् । पछिल्लो समय एउटा विरोधाभाष के छ भने पहाडी क्षेत्रमा विकास पर्याप्त पुगेका छन् तर, नागरिक चाहिँ शहर र विदेशमा बसाइसराइ गर्ने, पहाडको विकासको चुनौती के हुन् ?”

उहाँले पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्षमा पुगेको इतिहास जोड्नु हुँदै अहिले परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको उल्लेख गर्नुभयो । समस्या थुप्रै भए पनि देश अगाडि बढिरहेको भन्ने सन्देश दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

यसैगरी, बैठकमा आउँदो मङ्सिर ६ गते केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । यसअघि धनगढीमा बस्ने भनिए पनि परिस्थिति अनुसार स्थान परिवर्तन भएको उहाँले बताउनुभयो ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न एमालेले पार्टी कर्णाली प्रदेशको संयोजनमा पाँच हजार कार्य दिन कार्य गर्न मङ्सिर १ गतेदेखि स्वयंसेवक अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मङ्सिर १ गतेदेखि स्वयंसेवक अभियान सञ्चालन गर्ने । एक हजार कार्य दिनभन्दा बढी हामी त्यहाँ खट्नेछौं । एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछौं ।”

उहाँले भूकम्प पीडितको राहत सङ्कलन भए पनि वितरण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।