रेखीराम राना
तानसेन, कात्तिक २२ गते । पाल्पामा टिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
बुधबार बिहान ८ः३० बजे निस्दी–७, ज्यामिरेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्टको कारखानातर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपर ब्रेक फेल भई भित्तामा ठोक्किने क्रममा टिपरमा बस्नुभएकी मृतक आलेले हाल फाल्दा सोही टिपरले किचेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परी टिपरमा यात्रा गरेका पूर्वखोला–२, जल्पाका २५ वर्षीया हिमाली आले, मकवानपुर मनोहरी गाउँपालिका–९, का २६ वर्षीय अन्जन सुनार र मकवानपुर हेटौँडा ९ का २४ वर्षीय आशिष् सुनार घाइते हुनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।