• ११ मंसिर २०८१, मङ्गलबार

पाल्पाका किसान फूल खेतीमा आकर्षित

blog

पाल्पाका किसानले तयार गरेको सयपत्री फूल । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, कात्तिक २२ गते ।
 पछिल्लो समय पाल्पाका किसान फूल खेतीमा आकर्षित भएका छन् । कम मिहिनेतमा पनि राम्रो बजार पाएपछि यहाँका किसान फूल खेतीमा आकर्षित भएका हुन् ।

पछिल्लो समय जुनसुकै समयमा पनि फूलका गुच्छा र मालाको प्रयोग गर्ने प्रचलन बढेको छ । दसैँ, तिहार पर्व, सभा समारोह, अधिवेशन तथा सम्मेलनलगायतका कार्यक्रममा समेत फूलको माला र गुच्छाको प्रयोग बढ्न थालेको छ । फूल र मालाको प्रयोग बढ्न थालेपछि फूलले राम्रो बजार पाएको पाल्पाका किसान बताउँछन् ।

फूलको गुच्छा र मालाको प्रयोग बढेपछि हरेक वर्ष यसको खेती गर्ने किसानको सङ्ख्या बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष एक हेक्टर क्षेत्रफलमा फूल खेती भएकोमा यो वर्ष बढेर पाँच हेक्टर क्षेत्रफलमा फूल खेती भएको ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले जानकारी दिनुभयो ।

हाल पाल्पाको तानसेन, बगनासकाली, माथागढी, रामपुर, पूर्वखोला, रिव्दीकोट, रम्भालगायतका स्थानमा फूल खेती हुँदै आएको छ । गत वर्षको तुलनामा फूल खेती गर्ने किसान बढेका छन् भने क्षेत्रफल समेत बढेको छ । पाल्पाका किसानले सयपत्री, मखमली, गुर्धौली जातका फूल उत्पादन गर्दै आएका छन् ।

फूलखेतीमा लागत कम रहेको किसान बताउँछन् । फूल खेतीमा रोग लाग्ने डर पनि कम छ । लागत र रोगबाट क्षति नहुने कारणले फूल खेतीले किसानलाई फाइदा भएको रामपुर–४, का किसान दिलबहादुर थापाले बताउनुभयो । फूल खेतीमा राम्रो देखेर यसको खेती गर्ने किसान बढेको उहाँले बताउनुभयो ।