• ११ मंसिर २०८१, मङ्गलबार

मखमली मालाको माग धेरै : उचित मूल्य नपाएकोमा व्यवसायी निराश

blog

गुन्डुका किसानलाई फुल टिप्न माला गास्न भ्याइनभाइ छ । तस्बिर : कबिता थापा

काठमाडौं, कात्तिक २२ गते । मखमली फूलको मालाको माग अत्यधिक भए पनि मूल्य नपाएको किसानहरूको गुनासो छ । गुण्डुका किसानहरूले नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरूले बताए ।

गुण्डुका व्यवसायीहरूले भाइटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताउनु भयो । उहाँले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गर्नुभयो ।


थापाले व्यापार राम्रो भए पनि विगतका वर्ष ३५ रुपियाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपियाँभन्दा बढी मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताउनु भयो । उहाँले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताउनुभयो । उहाँले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने जिकिर गर्नुभयो । उहाँले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताउनु भयो ।

‘‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन ।  व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपियाँसम्म प्रतिमाला बिक्री भए पनि यो वर्ष २० देखि २३ रुपियाँभन्दा बढी पाउन सकिएको छैन ।,’’ थापाले भन्नुभयो, ‘‘मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ । मखमली फूल उत्पादनमा हामीले लगाएको लगानी उठ्छ । मैले आठ आना जग्गामा मखमली खेती गरेको थिए । यो वर्ष पानीको कारणले फूल राम्रो भएन । गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ । यो वर्ष ५० हजारसम्म आम्दानी हुन्छ ।’’


गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उहाँले पनि मखमली मालाको माग राम्रो भएपनि मूल्य विगतका वर्षहरूको जस्तो मूल्य नपाएको बताउनु भयो । उहाँले विगतका वर्षहरूमा ३० देखि ३५ रुपियाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपियाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको जानकारी दिनुभयो । उहाँले मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको बताउनु भयो ।

बस्नेतले गत वर्ष एक लाख रुपियाँको माला बिक्री भए पनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने बताउनु भयो । उहाँले विगतका वर्षहरूको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको जानकारी दिनुभयो । बस्नेतले मखमलीको माला घरमा नै व्यापारीहरू किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरूले अहिलेसम्म बिक्री गरेका मालाहरू सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको बताउनु भयो ।

‘‘मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरूको जस्तो भएन । विगतका वर्षहरूमा ३० देखि ३५ रुपियाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपियाँसम्म मात्रै प्रतिमाला पाउने गरेको छौँ । मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम छ । गत वर्ष एक लाख रुपियाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने देखिएको छ ।,’’ पुष्प व्यवसायी बस्नेतले भन्नुभयो, ‘‘विगतका वर्षहरूको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ । हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन घरमा नै व्यापारीहरू आउने गर्छन् । सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौँ । अहिलेसम्म बिक्री भएका मालाहरू सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातका लागि गएको छ ।’’


त्यस्तै, भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैयाँ बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताउनु भयो । उहाँले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताउनु भयो । उहाँले विगतका वर्षहरूमा ५० रुपियाँसम्म प्रतिमाला मूल्य पाएपनि यो वर्ष २३ रुपियाँभन्दा बढी मूल्य पाउन नसकेको गुनासो गर्नुभयो ।

‘‘मखमली उत्पादनका पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो । उत्पादन विगतको भन्दा कम छ । उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्यमा पनि २३ रुपियाँभन्दा बढी गएको छैन । गतवर्ष ५० रुपियाँसम्म बिक्री भएको थियो । किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन ।,’’ पुष्प व्यवसायी बस्नेतले भन्नुभयो, ‘‘आम्दानीको हिसाबले खेतमा मखमली फूल लगाउँदा धानको भन्दा फाइदा मखमली फूलबाट बढी हुन्छ । मखमली माला बनाउन पनि मेहनत गर्नुपर्छ आफू मात्रै नभएर अर्मपर्म गरेर वा एउटा माला उनेको ५ रुपियाँसम्म तिरेर लगाउनु पर्छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रूपमा ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।’’

उहाँले किसानहरूको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तीमा पनि प्रतिमाला ३० रुपियाँ मूल्य पाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको जानकारी दिनुभयो । उहाँले एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रूपमा ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनु भयो ।