काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायतको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार त्यसतर्फ पठाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेले बताउनुभएको छ।
‘‘७ बुँदे कार्य’ मा केन्द्रित रहने गरी दुई महामन्त्रीले तीन तहका सरकार र सङ्घ संस्थाबाट ‘एकद्वार प्रणाली’ अनुसार काम भए नभएकाे पालना गर्न र गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनुहुने छ ।
महामन्त्रीद्वयले भूकम्प प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप सङ्घमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियाे ।
सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ । केही सांसदले व्यक्तिगत रूपमा छुट्टै सहयोग गर्नुभएको छ भने नेविसंघ, तरुण लगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरी आर्थिक सङ्कलन गरेको,’ मुख्यसचिव पौडेलले बताउनुभएको छ ।
कांग्रेसद्धरा जारी यस्ता छन् सात कार्य
१. उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढङ्गले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चारमाध्यममार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने।
२. सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायहरूबिच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन। छैन भने एकद्वार पालना गर्न र गराउन थप सुझाव र सहजीकरण गर्ने।
३. उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन् सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्नरगराउन सुझाव र सहजीकरण गर्ने र गराउने।
४. उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापना सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने।
५. घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने।
६. सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवम् वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय।
७. पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के-के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने।