• १४ मंसिर २०८१, शुक्रबार

रानी–धरान सडक हस्तान्तरणको तयारी

blog

नवराज कट्टेल

विराटनगर, कात्तिक २२ गते । कोशी राजमार्ग अन्तर्गत रानी–धरान सडकखण्ड निर्माण करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको थियो । 

रानी–धरान ४९ किलोमिटर छ लेन सडकको डिपिआर भएकोमा ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये दुहबी बजार क्षेत्रको ६३० मिटर र धरानको तीनकुनेदेखि धरान जिरो किमीसम्मको पाँच किलोमिटर दुरीको ठेक्का व्यवस्थापन भएको छैन । 

छ लेन सडक आयोजना इटहरी कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रियङ्का झाका अनुसार अब धरानको पाँच किलोमिटर र दुहबीको ६३० मिटर ठेक्का व्यवस्थापन नगरी हस्तान्तरण गरिने छ । अहिले धरानको सेउतीदेखि तीनकुनेसम्मको साढे पाँच किलोमिटरको क्षेत्र निर्माणाधीन चरणमा रहेको छ । यो दुरीमध्ये समेत तीन किलोमिटरमा एक साइड कालोपत्रे भइसकेको छ । सुनसरीको दुहबीमा एक हजार ३७० मिटर दुरीको ठेक्कासमेत व्यवस्थापन भइसकेको छ । 

उहाँका अनुसार निर्माण सम्पन्न भएको दुहबी खोलाको पुलसहित आठ अर्ब ६५ करोड रुपियाँको लागतमा ३६.३७ किलोमिटर सडकको काम सकिएको हो । निर्माण सकिएको सडक अब डिभिजन सडक कार्यालय विराटनगरलाई हस्तान्तरण गर्ने प्रव्रिmयामा जाने तयारी भइरहेको इन्जिनियर झाले जानकारी दिनुभयो । छ लेन सडकको ४९ किलोमिटर दुरीको लागत १० अर्ब ९८ करोड रुपियाँ रहेको थियो । सुनसरीको दुहबीमा ६३० मिटर ‘बिल्ट अप एरिया’ र धरानको तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको पाँच किलोमिटर साइड क्लियर नहुँदा ठेक्का व्यवस्थापन नभएको हो । 

आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन चरणमा रहेको सडक १७ वटा च्यानेज (प्याकेज) मा ठेक्का लागेको थियो । निर्माण सम्पन्न भइसकेको सडक निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरिसकेका छन् । 

हस्तान्तरणअघि भासियो

व्यापारिक मार्गका रूपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नु अगावै भासिन थालेको छ । विराटनगर क्षेत्रमा कालोपत्रे भागेर सडक डाँडापाखा जस्तो भएको हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने मुख्य केन्द्र भागमा टायरका डोब बनेका छन् । 

सूचना अधिकारी झाले भने निर्माण कम्पनीले सर्त अनुसार मर्मत गरेर हस्तान्तरण गरेको बताउनुभयो । अब सडकको मर्मतको काम हस्तान्तरणअघिसम्म आयोजनाले नै गर्नुपर्ने हुन्छ । हस्तान्तरणपछि डिभिजन सडक कार्यालय विराटनगरले यसको मर्मत गर्नुपर्ने हुन्छ । 

विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाँटसम्मको कालोपत्रे सडकमा कालोपत्रे भासिएर यसअघि मर्मत गरिएको थियो । अहिले बजारमा सडकको मध्यभागदेखि पश्चिमतर्फको सडक भने कतै डाँडा कतै पाखा भएर भासिएको छ । छ लेनको सडकमा दुई लेन मात्रै प्रयोग भइरहेको आयोजनाका सूचना अधिकारी झाले दाबी गर्नुभयो । छ लेन सडकको प्रयोग प्रयोजन अनुसार सवारी व्यवस्थापन भएको भए त्यस्तो नहुने उहाँको भनाइ छ । 

सडकको भार वहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी भन्सार क्षेत्रबाट औद्योगिक क्षेत्रसम्म आउँदा त्योतर्फको भाग मात्रै भासिएको उहाँको बुझाइ छ । मालवाहक सवारीले अनलोड भएर फर्कने पूर्वतर्फको सडकका तीन लेनमा कम समस्या रहेको छ । 

विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा पाँच गुण बढी वजन बोक्ने गरेका छन् । सडकको भार वहन क्षमता सवारीको एक्सलदेखि एक्सलसम्म १० टन मात्रै रहेको छ । “त्यसबेलाको डिजाइन अनुसार निर्माण भएको सडकमा त्यही अनुसारको वजन भएका सवारीलाई मात्रै गुड्न दिएको भए यस्तो हुने थिएन,” इन्जिनियर झाले भन्नुभयो, “राजमार्ग व्यवस्थापन गरेर प्रयोग गर्ने सिस्टम त आयोजनाले बनाउने हैन । राजमार्गमा सवारी व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयको हुन्छ । यी कार्यालयले कति भार भएका सवारी सडकमा गुडिरहेका छन् भन्ने कुराको यकिन गरेर नियन्त्रण गर्नुपर्ने हुन्छ ।” 

भन्सार–औद्योगिक क्षेत्रमा समस्या

सडकमा भार वहन क्षमताभन्दा बढी भार (वजन) भएका सवारीको आवागमनको व्यवस्थापन नहुँदा विराटनगर भन्सार कार्यालयबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्म एकातर्फको भूभाग मात्रै बढी समस्या देखिएको छ । छ लेन सडकको केन्द्र भागको डिभाइडरबाट दायाँ–बायाँ तीन÷तीन लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछि बिचको भाग साना सवारी गुड्ने गरेको र सडकको केन्द्र भागबाट ठुला माल वाहक लगातार गुड्दा भासिएको देखिन्छ । 

इन्जिनयिर झाले भार वहन नियन्त्रण र सडकको पार्किङ व्यवस्थापनपछि फराकिलो रूपमा प्रयोग गरे मात्रै टिक्ने दाबी गर्नुभयो । भारतबाट बढी लोड लिएर भन्सार हुँदै औद्योगिक कोरिडोरका लागि छुटेका सवारी गुड्ने पश्चिम साइडमा सबैभन्दा धेरै समस्या देखिएको छ ।