• १० मंसिर २०८१, सोमबार

पश्चिम नेपालमा बारम्बार भूकम्प

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक २२ गते । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ ।

विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार बाजुरामा १० माघ २०७९ मा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । तथापि जाजरकोट भूकम्पले मानवीय क्षति बढी भएको छ । 

शुक्रबार मध्यरातको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति पु¥याएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् बलबहादुर तामाङका अनुसार जाजरकोटमा मानवीय क्षति बढी हुनुको कारण रातिको समयमा भूकम्प जानु हो । बस्ती नजिकै भूकम्पको केन्द्रबिन्दु हुनु, भौगोलिक अवस्था र परम्परागत शैलीका पुराना घर हुनुले समेत मानवीय तथा भौतिक क्षति बढी हुन गएको हो । 

पश्चिम नेपालमा एक वर्षयता बारम्बार ठुला स्केलका भूकम्प जानुले खतराको सन्देश प्रवाह भइरहेको छ । पश्चिम नेपालमा १५०५ सालमा ठुलो भूकम्प गएको थियो । त्यसयता ठुलो भूकम्प नगएका कारण जमिनमुनि सञ्चित ठुलो मात्राको ऊर्जाका कारण भूकम्पको उच्च जोखिम रहेको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् बलबहादुर तामाङले बताउनुभयो । 

दक्षिण भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानको तह उत्तर तिब्बतीय चट्टानतर्फ जानु र युरेसियन प्लेटमा घर्षण हुनुले झन् जोखिम बढाएको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम नेपालमा पाँच सय वर्षदेखि भूकम्प गएको छैन । लामो समय भूकम्प नजाँदा जमिनमुनि अथाह ऊर्जा सञ्चित भएर बसेको छ । त्यो शक्ति बाहिर निस्कने वा सकिने भनेको भूकम्प गएर मात्र हो, अन्य उपायले त्यो शक्ति बाहिर निस्कँदैन ।”

वैज्ञानिक अध्ययनले पश्चिम नेपालमा ठुलो भूकम्प जाने देखाएको छ तर त्यो कहिले जान्छ भनेर भन्न सकिने अवस्था नरहने उहाँको भनाइ छ । भारत र तिब्बतको बिचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्र भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा भारतीय र तिब्बतीय प्लेटहरू ठोक्किने स्थान भएकाले यो क्षेत्रवरिपरि भूकम्पको सम्भावना सधैँ हुने गरेको भूकम्प विज्ञहरूको भनाइ छ । 

५२६ घर क्षतिग्रस्त

सल्यान समाचारदाताका अनुसार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पबाट सल्यानमा ५२६ घर क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी अनुसार जिल्लामा ९५ घर पूर्ण, २५६ आंशिक र १७२ घरमा सामान्य क्षति पुगेको छ । सबैभन्दा बढी दार्मा गाउँपालिकाका ३९८ घरमा क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलका अनुसार दार्मामा ९३ वटा पूर्ण, २३६ आंशिक र ६८ घरमा सामान्य क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ । पराकम्पन गइरहेकाले क्षतिको विवरण बढ्न सक्ने अवस्था छ ।उहाँका अनुसार बागचौर नगरपालिकामा २६, बनगाड कुपिन्डे नगरपालिकामा ५२, कपुरकोट गाउँपालिकामा २६, सिद्ध कुमाख गाउँपालिकामा २०, शारदा नगरपालिकामा तीन र त्रिवेणी गाउँपालिकाको एक घरमा क्षति पुगेको छ । 

भूकम्पपीडित खुला स्थानमा रात कटाउन बाध्य छन् । पीडितले जाजरकोट र रुकुमपश्चिममा राहत केन्द्रित गरिएको र आफूलाई बेवास्ता गरिएको सल्यानका भूकम्प पीडितले बताएका छन् । दार्मा गाउँपालिका–२, लिरापाजाका बहादुर दमाईले आफूहरू खुला चौरमा बस्नु परेको गुनासो गर्नुभयो । मानवीय क्षति नभए पनि रुकुम र जाजरकोटको बराबर भौतिक क्षति सल्यानमा भएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले दार्माका धेरै बासिन्दा खुला चौरमा बस्न बाध्य भएका र पालिकाको आन्तरिक स्रोतले राहत वितरण गरिएको जानकारी दिनुभयो ।

दुई दर्जन घरमा क्षति

कालीकोट समाचारदाताका अनुसार सोमबार दिउँसोको पराकम्पनले नयाँ कर्णाली रेडियोसहित दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । दिउँसो ४:३१ बजे गएको भूकम्पले रेडियो नयाँ कर्णालीको भवन पूरै चिरा पारेको छ । 

रेडियोका प्राविधिक निस्ता कार्कीका अनुसार पराकम्पनले तीनतले भवनको तलदेखि माथिसम्म पूरै चिरा पारेको छ । कात्तिक १७ गते शुक्रबार गएको भूकम्पले रेडियोको भवन चर्किएको थियो । सोही भवनबाट अहिले जोखिमसाथ रेडियो सञ्चालन भइरहेको बताइन्छ ।

तिलागुफा नगरपालिका–४, राँचुलीका प्रायः सबै घरमा क्षति पुगेको छ । स्थानीय जर्मा न्यौपाने शाहीका अनुसार दुई दर्जनभन्दा बढी घरमा क्षति भएको छ । जिल्लाका प्रायः घर भूकम्पले चर्काएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । 

दुई लाख सहयोग 

हुम्ला समाचारदाताका अनुसार भूकम्पपीडित परिवारलाई सिमकोट गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला रोकाया भाम र कार्यपालिकाका सदस्यको अनौपचारिक छलफलले भूकम्पपीडितका लागि गाउँपालिकाका तर्फबाट सो सहयोग गर्ने निर्णय भएको हो । 

गाउँपालिकाका अध्यक्ष भण्डारीले भूकम्पपीडितलाई दुई लाख रुपियाँ सहयोग गर्ने बताउनुभयो । सो रकम गाउँपालिकाले विपत् कोषबाट प्रदान गर्ने जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा कार्यरत ६५ कर्मचारीले पनि भूकम्प पीडितलाई प्रतिव्यक्ति एक हजार रुपियाँका दरले सहयोग उठाएर पैँसट्टी हजार रुपियाँ कोषमा जम्मा गरिने कार्यालय प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

भेरीमा चौध विद्यालय भवन भत्किए 

राष्ट्रिय समाचार समितिका अनुसार भेरी नगरपालिकामा भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । विद्यालयका ७८ वटा भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चार वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटी ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ । त्यसै गरी तीन शिक्षक र  ३१ विद्यार्थी घाइते हुनाका साथै ११ विद्यार्थीको मृत्यु भएको छ । 

भूकम्पपीडितलाई आर्थिक सहयोग

जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । भूकम्पले जाजरकोट र रुकुम जिल्लामा जनधनको क्षति भएको छ । उक्त दुःखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले १० लाख रुपियाँ राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । यसै गरी नेपाल सरकारको दैवीप्रकोप व्यवस्थान कोषमा पाँच लाख रुपियाँ भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनस्र्थापना, पुनर्निर्माणलगायत कार्यमा सहयोग पु¥याउन सिँजा गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।