• १२ साउन २०८१, शनिबार

नगरवासीलाई सहयोग गर्न प्रमुख केसीको अपिल

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २० गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिका प्रमुख रवि केसीले विपद्को समयमा सहयोग गर्न सहयोगी निकायलाई अपिल गर्नुभएको छ । 

शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो जनधनको क्षति गरेकाले नगरवासी समस्यामा रहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख केसीले खुला आकाशमुनि भोकै बस्न बाध्य नगरवासीलाई समयमै सहयोग गर्न अनुरोध गर्नुभयो । 

भूकम्पमा परेर ४२ जनाको जिल्लामै र दुई जनाको जाजरकोटमा मृत्यु भएको, ७ हजार १८४ घर पूर्ण रूपमा ध्वस्त भएको उहाँले जानकारी दिनुभयो । सबै नगरवासीहरू चिसो बेलामा खुला आकाशमुनी बस्न बाध्य भएको र उहाँहरूको स्वास्थ्य अवस्था बिग्रन सक्ने भएकाले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

भूकम्पपछि खोज, उद्धार र उपचारको काम पूरा गरेको बताउनुहुँदै उहाँले अब राहत र पुनर्स्थापनाको काम सुरु भएकाले सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । 

खानेपानी, सडक, यातायातको समस्या रहेको जानकारी दिनुहुँदै उहाँले शोकलाई शक्तिमा बदल्न विभिन्न निकायको साथ र सहयोगको निरन्तर अपेक्षा गरेको उल्लेख गर्नुभयो । 

‘मान्छेको उद्धार भयो, अब रोगबाट बचाउनु पर्नेछ, नगर प्रमुख केसीले भन्नुभयो’ ‘नगरपालिकाको आन्तरिक आयले यो विपद् सामना गर्न सक्दैनौँ, तपाईँहरूको सहयोग जरुरी भएको छ ।’