• १० मंसिर २०८१, सोमबार

उपचारमा सहयोगी जीव

blog

किराफट्याङ्ग्रा सामान्यतया रोग सार्ने र मानिसको शत्रुका रूपमा चिनिन्छन् । हामीले देखेमा किराफट्याङ्ग्रालाई मारिहाल्ने वा लखेट्ने गर्छौं । झिङ्गाले रोग सार्छ, लामखुट्टेले रोग सार्ने र टोकेर निद्रा बिथोल्ने तथा सर्पले डस्छ भन्ने सोचाइले हामी किराफट्याङ्ग्रालाई मन पराउँदैनौँ । वैज्ञानिक चाहिँ किराफट्याङ्ग्रालाई पारिस्थितिक प्रणालीको अभिन्न अङ्ग मान्छन् ।  

झिङ्गा

खतरनाक रोगबाट झिङ्गालाई जोगाउन योगदान गर्ने जैविक गुणलाई प्रयोग गरी मानिसको उपचार गर्न सकिने देखिएको छ । अत्यन्त खराब र गनाउने फोहोर खाने झिङ्गामा सयभन्दा बढी हानिकारक रोगका कारक हुन्छन् । 

तर वैज्ञानिकलाई झिङ्गाको अनुसन्धान गरी मानिसमा रोगको शोध गर्न मद्दत पुगिरहेको छ । सन् २०१४ अक्टोबरमा जिनोम बायलोजी जर्नलमा प्रकाशित एक अनुसन्धानको विवरणमा कोरोनल विश्वविद्यालयका डा. जेफ स्कटले झिङ्गाको जिनोम भेद खोलेर मानिसमा त्यसको उपयोगिता जान्ने प्रयास गरेका थिए । झिङ्गाको डिएनए र मानिससँग ६० प्रतिशत जिन मिल्ने फ्रुटफ्लाईको डिएनएबीच उनको टोलीले तुलना गरी झिङ्गालाई रोगबाट सुरक्षित राख्न प्रतिरक्षा प्रणाली बलियो पार्ने जिन पहिचान गरेको थियो ।  

माकुरा

पीडा घटाउन र स्नायुमा पुगेको क्षति निको गर्नमा माकुराको प्रयोग गर्न सकिने विश्वासमा वैज्ञानिक छन् । हामीमध्ये धेरैजसो आठखुट्टे किरा माकुरासँग तर्सन्छौँ तर प्रकृतिको एक उत्कृष्ट बुनकर माकुराको उपयोगिता धेरै छ । विश्वमा एन्टार्कटिकाबाहेक सबै क्षेत्रमा गरी करिब चालिस हजार प्रजातिका माकुरा पाइन्छन् ।  

सबैजसो माकुरामा टोक्न सक्ने क्षमता भए पनि लगभग एक दर्जन प्रजातिका माकुराले मात्र आफ्नो विषबाट हामीलाई क्षति पु¥याउन सक्छन् । ती माकुराले टोकेमा ज्वरो आउने, चिलाउने, वाकवाकी लाग्ने, बान्ता हुने वा फोका आउने गर्छ । कसैकसैलाई सास लिन कठिन हुने गर्छ र ज्यान पनि जान सक्छ ।

वैज्ञानिकले माकुराको विषका यस्ता यौगिक खोजेका छन् जसबाट तीव्र पीडाको उपचार गर्न सकिन्छ । माकुराको विषले मानिसलाई हानि पु¥याउन सक्ने भएकाले त्यसलाई वैज्ञानिकले सावधानीसाथ प्रयोगमा ल्याउने प्रयास गरेका छन् । अस्ट्रे«लियाको क्विन्सल्यान्ड विश्वविद्यालयका वैज्ञानिकले माकुराको विषमा ती यौगिक खोजेका थिए । 

दुई सय पाँच प्रजातिका माकुराको विषको अनुसन्धान गरी वैज्ञानिक टोलीले ४० प्रतिशत विषमा कम्तीमा एक पीडाहरक यौगिक भएको पत्ता लगाइएको थियो । 

माकुराको विष मात्र होइन त्यसले उत्पादन गर्ने रेसाबाट मानिसको स्नायु तन्त्रिकाको मर्मत गर्न सकिने वैज्ञानिकको भनाइ छ । सन् २०११ मा जर्मनीको हानोभर मेडिकल स्कुलका वैज्ञानिकले सो खोज गरेका थिए । माकुराको रेसा निकै बलियो हुन्छ र अनुसन्धानबाट पत्ता लागे अनुसार माकुराको रेसा स्टिलभन्दा पाँच गुणा अधिक बलियो हुन्छ ।

मौरी

ब्याक्टेरियामा विकास भइरहेको एन्टिबायोटिक प्रतिरोधी शक्तिसँग जुझ्न मौरीको विष काम लाग्ने भनाइ वैज्ञानिकको छ । सन् २०१३ मा एन्टिभाइरल थेरापी जर्नलमा वैज्ञानिकले मौरीको विषमा हुने मेलिटिन यौगिक बहुउपयोगी हुने जनाएका थिए । त्यसले एचआइभीलाई पनि नष्ट गरेको बताइएको थियो । 

वासिङ्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनका वैज्ञानिकले मेलिटिन यौगिकले एचआइभीको दोहोरो आवरणमा प्वाल पार्न सक्ने र त्यस विषले भाइरसलाई मार्ने पत्ता लगाएका थिए । यस विषबाट योनीमा लगाउने लेप बनाएर एचआइभी सङ्क्रमण हुनबाट रोक्न सकिने दाबी गरिएको छ ।  

सन् २०१४ सेप्टेम्बरमा सार्वजनिक गरिएको स्विडेनको लुन्ड विश्वविद्यालयको एक अनुसन्धानपत्रमा नयाँ खालको एन्टिबायोटिक्स बनाउन मौरीको प्रयोग गर्न सकिने जनाइएको थियो । मौरीको पेटमा हुने ल्याक्टिक एसिड ब्याक्टेरिया ताजा महमा पनि पाइन्छ र यसमा ब्याक्टेरियाविरोधी गुण हुन्छ । एन्टिबायोटिक्स प्रतिरोधी क्षमता विकसित गरेका कतिपय ब्याक्टेरियाविरुद्ध मौरीमा हुने यो ब्याक्टेरिया प्रभावकारी हुने पाइएकोे छ । 

बिच्छी

मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग गर्न सकिन्छ । माकुरासरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रो उपचारमा सहयोग पुग्ने देखिएको छ । बिच्छीको विषले मुटुमा समस्या ल्याउँछ तर यसले नै मुटुको उपचारमा सहयोग पुग्न सक्छ । सबै बिच्छीमा विष हुन्छ र लगभग ३० प्रजातिका बिच्छीमा मात्र मानिसलाई बिरामी पार्न सक्ने खालको विष पाइन्छ ।

ती बिच्छीले डसेमा सास लिन कठिनाइ हुने, मांसपेशीमा ऐँठन, रक्तचाप बढ्ने, धड्कन घट्ने र अनियमित हुने तथा ज्यान जान सक्ने जोखिम रहन्छ तर बिच्छीको विषले नै मुटुको उपचार गर्न मिल्ने भनाइ वैज्ञानिकको छ । सन् २०११ मा अमेरिकाको विस्कोन्सिन मेडिसन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका वैज्ञानिकले अफ्रिकी इम्पेरियर बिच्छीको विषमा हुने यौगिक मुटु असफल भएको उपचारमा प्रभावकारी हुने पाइएको थियो । 

बिच्छीको क्याल्सिन यौगिकले मानिसको मुटुका कोषबाट क्याल्सियमलाई बाहिर निकालेर मुटुका मांसपेशीलाई खुम्चन सहयोग गर्ने वैज्ञानिकको भनाइ छ ।  

सर्प

सरीसृप वर्गमा पर्ने सर्पको विषबाट समेत मानिसको उपचार गर्न सकिन्छ । सर्पको विषले मानिस मर्न सक्छ तर त्यही विषबाट मानिसको उपचार पनि हुन्छ । सर्पले डस्दा मानिस मर्ने अवस्था पुग्छ तर वैज्ञानिकले सर्पकै विषबाट औषधी बनाएका छन् । सन् २०१२ मा नेचर कम्युनिकेसन जर्नलमा उल्लेख गरिए अनुसार सर्पको विषले उच्च रक्तचाप र क्यान्सरको उपचार गर्न मद्दत मिल्ने छ । 

म्यान्मारमा पाइने अजिङ्गर र गार्टर सर्पको जिन विश्लेषण गरी वैज्ञानिकले ती सर्पको विष मानिसलाई हानिकारक भए पनि विषलाई परिवर्तन गरी प्रभावशाली औषधी बनाउन सकिने जनाएका थिए ।

भ्यागुता

तुलनात्मक रूपमा भ्यागुता देखेर मानिस कम डराउँछ । आफ्नो शरीरको आकारभन्दा २० गुणा लम्बाइमा उफ्रन सक्ने भ्यागुता विषालु पनि हुन्छन् । विश्वमा छ हजारभन्दा बढी प्रजातिका भ्यागुता पाइन्छन् । कतिपय प्रजातिका भ्यागुता विषालु हुने भए पनि मानिसलाई हानि गर्न सक्ने भ्यागुता थोरै छन् । बरु भ्यागुताबाट मानिसमा क्यान्सरको उपचार हुन सक्ने देखिएको छ ।

सन् २०११ मा उत्तरी आयरल्यान्डको क्विन्स विश्वविद्यालयका वैज्ञानिकले वाक्सी मङ्की भ्यागुता र फायरवेलिड भ्यागुताको छालामा दुई वटा प्रोटिन खोजे । जसले नयाँ रक्तनलीको विकास अवरुद्ध गर्छ । वैज्ञानिकका अनुसार क्यान्सरको ट्युमरले रक्तसञ्चारका लागि आफ्नै रक्तबाहिनी नली विकास गरी अक्सिजन र पोषण ग्रहण गर्दछ । 

रक्तनली विकास हुने प्रक्रियालाई बन्द गर्ने प्रोटिन हुनुको अर्थ ट्युमरले अक्सिजन र पोषण प्राप्त गर्न सक्ने छैन । जसबाट ट्युमर मर्ने छ । अर्कोतर्फ क्यान्सर नभएको अवस्थामा भ्यागुताको विषमा हुने प्रोटिनले रक्तनली विकासमा सहयोग गरेर मस्तिष्कघात जस्तो अवस्थामा सहयोग पु¥याउने छ । 


–युवामञ्च