• ३ असार २०८१, सोमबार

सिँजाबाट नागरिकता वितरण सुरु

blog

जुम्ला समाचारदाता

जुम्ला, कात्तिक २० गते । इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो ।

गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो । उहाँले बिहीबार १६ गते एकै दिन ६९ जनाले नागरिकता प्राप्त गरेको बताउनुभयो । इलाका प्रशासन कार्यालय सिँजामा कर्मचारी आएपछि नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । दसैँतिहारमा घर आएका समयमा धेरैजसोले नागरिकता बनाउने गर्छन् । सिँजा क्षेत्रको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई ध्यानमा राखी सरकारले सिँजाको नराकोटमा इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । अधिकृतस्तरको दरबन्दी भएको सो प्रशासनमा कर्मचारी आउन नमानेपछि २०७२ सालपछि नायब सुब्बालाई कामु बनाएर नागरिकता वितरण गरिँदै आएको थियो । दुई महिनाअघि नासुको कार्य अधिकार सकिएपछि नागरिकता वितरण कार्य स्थगित भई नागरिकता बनाउन सदरमुकाम खलङ्गा धाउनुपर्ने बाध्यतामा स्थानीय थिए । 

सर्केगाडमा बन्द 

हुम्ला समाचारदाताका अनुसार इलाका प्रशासन कार्यालय सर्केगाडले दुई महिनादेखि नागरिकता वितरण बन्द गर्दा सेवाग्राही मर्कामा परेका छन् । यसअघि नायब सुब्बालाई कायममुकायम बनाएर इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरिएको थियो । हाल नायब सुब्बालाई कायममुकायम नदिएपछि नागरिकता वितरण रोकिएको हो । 

इलाका प्रशासन कार्यालय सर्केगाडका प्रमुख भीमबहादुर रोकायाले गृह मन्त्रालयले २०७७ साल साउन १६ देखि दिँदै आएको यसअघिको नागरिकतामा हस्ताक्षर गर्ने कायममुकायमको जिम्मेवारी २०८० साल साउन १६ बाट लागु हुने गरी नदिँदा नागरिकता दिने काम बन्द गरिएको बताउनुभयो । उहाँलाई इलाका कार्यालयका लागि आर्थिक अधिकार दिइएको भए पनि नागरिकतामा हस्ताक्षर गर्ने अधिकार दिइएको छैन । उहाँले नागरिकता लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात मिलाएर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको बताउनुभयो । इलाकाबाट नागरिकता दिन बन्द भएपछि दक्षिणी क्षेत्रका चार गाउँपालिका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोटका सेवाग्राहीले एक हप्ता समय लगाएर नागरिकता प्राप्त गर्नुपर्ने अवस्था आएको छ ।