• ३ असार २०८१, सोमबार

अस्पतालमा परिवारकै चिन्ता

blog

ललित बसेल

सुर्खेत, कात्तिक २० गते । भूकम्पमा परी दुई छोरी गुमाएका आठबिसकोट नगरपालिका–१४, टाकुराका ३८ वर्षीय गणेश मल्ल सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी घाइते छोरा र श्रीमती नगर अस्पतालमै उपचारमा हुनुहुन्छ । 

आँखाअगाडि कक्षा ९ मा पढ्ने ठुली छोरी प्रेमा मल्ल र कक्षा ८ मा पढ्ने कान्छी छोरी चन्द्रकला मल्लको मृत्यु सम्झँदा मल्ललाई निकै पीडा हुन्छ । पीडित मल्लले भन्नुभयो, “जाने त गइसके तर घाइते भएका छोरा, श्रीमती र बाबुआमा के गर्दै हुनुहोला, धेरै याद आएको छ ।”

उहाँले भन्नुभयो, “एकातिर दुई छोरी बिते, अर्कोतिर घर सबै भत्कियो । हामी घाइते भयौँ । अब कसरी जीवन चलाउने होला ?” उहाँले आउने दिनहरू आफ्ना लागि कष्टकर हुने दुःखेसो गर्दै दुई छोरी नहुँदा कसरी घर जाने भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब कहाँ जाने, कसरी घर बनाउने र कसरी जीवन चलाउने ?”

उहाँले सरकारले घर बनाइदिने र जीवनयापनका लागि केही राहत र सहयोग गर्नुपर्ने माग गर्नुभयो । जाजरकोटको भेरी नगरपालिका–१, रावत गाउँका शक्तिबहादुर विक एक वर्षीय छोरा र श्रीमतीसहित प्रादेशिक अस्पतालमै उपचाररत हुनुहुन्छ । आफ्नै घरले पुरिएपछि छिमेकीको उद्धार कार्यबाट बाँच्न सफल विक छिमेकीकै सहयोगले अस्पतालसम्म आइपुगेको विकले बताउनुभयो । उहाँले भूकम्पपछिको घर पुनर्निर्माण र जीविका कसरी चलाउने भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँको दुईतले घर भूकम्पले पूर्ण रूपमा क्षति भएको छ । उहाँले भन्नुभयो, “घर नै छैन, परिवार पाल्नै गाह्रो हुने गरेकोमा अब कसरी घर बनाउने र परिवार कसरी पाल्ने ?” 

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा जाजरकोट र रुकुमपश्चिमका २९ जना घाइते उपचारका लागि ल्याइएको थियो । आइतबार दिउँसोसम्म चार जनाको डिस्चार्ज भइसकेको जनाइएको छ ।