• ४ जेठ २०८१, शुक्रबार

इजरायलमा मारिएका दुई विद्यार्थीको शव आफन्तको जिम्मा

blog

इजरायलमा ज्यान गुमाउन पुगेका डोटीका बिद्यार्थीको शव आफन्तलाई जिम्मा लगाइँदै । तस्विर : डिलबहादुर सिंह

डिलबहादुर सिंह 

डोटी, कात्तिक १९ गते । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ । 

डोटीको आदर्श गाउँपालिका–५ पीडका पदम थापा र शिखर नगरपालिका–६ चुणीका राजन फुलाराको शव नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत ल्याई आइतबार दिउँसो ३ बजे दिपायल स्थित डोटी विमानस्थलमा आफन्तको जिम्मा लगाइएको हो । 

डोटी विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन् । शव बुझ्ने क्रममा आफन्तसँगै जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र स्थानीय विमानस्थल पुग्नु भएको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार मृतक विद्यार्थीको शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुगाउने व्यवस्था गरेको छ । 

मृतक दुवै विद्यार्थीको शव सोमवार दाहसंस्कार हुने आफन्तहरूले जानकारी दिनुभयो । मृतक पदम थापाको आदर्श गाउँपालिका –५ तलारास्थित सेती नदीमा र राजन फुलाराको शिखर नगरपालिका –६ अडेउलस्थित सेती नदीमा दाहसंस्कार हुने छ ।  

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत भाद्र २६ गते इजरायल पुग्नुभएको थियो । असोज २० गते हमासको आक्रमणमा परी दुवैको मृत्यु भएको थियो । उनीहरूको शव झण्डै एक महिनापछि नेपाल आइपुगेको हो । शव पहिचान भएको पुष्टि भएसँगै आफन्तले छिटो शव नेपाल ल्याइदिन आग्रह गरेका थिए ।