काठमाडौं, कात्तिक १९ गते । काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचीकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आह्वान गरेको छ ।
महानगरको सामाजिक विकास विभागले आइतबार सूचना प्रकाशन गरेर आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगरको गौरव योजनाको रुपमा रहेको सो योजनाले महानगरका बासिन्दालाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने, विभिन्न पेसा, रोजगारमा आबद्ध बनाउने तथा आर्थिक रुपमा सशक्त बनाउन विविध सीप विकास कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।
महानगरपालिकाको वेब साइटमा रहेको सूचनामा फाराम भरी एक हप्ताभित्र आवेदन पेश गर्न सम्बन्धित सामग्री यसै सूचनासँग सार्वजनिक गरेको छ ।
महानगरपालिकाको स्थायी बासिन्दा, फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा, करदाता वा महानगरभित्र बसोबास गर्ने १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको नेपाली नागरिकले यसका लागि सूचीकृत हुन सक्ने सामाजिक विकास विभागले जनाएको छ ।