• १६ भदौ २०८१, आइतबार

भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताए

blog

भूकम्प प्रभावित सर्वसाधारण खुला आकाशमुनी । तस्बीर : वासुदेव शर्मा

वासदेब शर्मा 

जाजरकोट, कात्तिक १९ गते । भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताएका छन् । शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले आकाशमुनी रात बिताएका हुन् । 

घरबाससहित आफन्त गुमाएका सर्वसाधारणसँग सामग्री नभएपछि आगो बालेर रात बिताएका छन् । भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकामा नागरिकहरू पुनः भूकम्प आउने त्रासले खुला आकाशमुनी रात बिताएका छन् । 

सदरमुकाम खलङ्गाका भूकम्प प्रभावित सर्वसाधारणले सित र जाडो छल्ने त्रिपाल पाए पनि नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिकाका ग्रामीण बस्तीका नागरिकले त्रिपाल समेत पाउन नसकेपछि खुला आकाशमुनी बस्न बाध्य छन् । 

भेरी नगरपालिका–३ राधामाधव समितिका अध्यक्ष ओमसिंह राठौरले ठुलो जनधनको क्षति गरेको सदरमुकामस्थित माथिल्लो थाप्लेका भूकम्प प्रभावित सर्वसाधारणलाई सित छल्न त्रिपालको व्यवस्था गरेको बत्ताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीय सरकारले भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलनका आधारमा राहत वितरण सुरु गर्ने बताउनुभयो । भूकम्पबाट पूर्ण रूपमा प्रभावितलाई त्रिपाल र केही सामग्री सहयोग गरेको बताउनुभयो । आज आइतबार भूकम्प प्रभावित क्षेत्रका सबैलाई राहत सामग्री वितरण गरिने सरोकारवाला निकायसँग छलफल समन्वय भइरहेको उहाँको भनाइ छ ।

भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका नागरिकले नेपाली कांग्रेस पार्टी कार्यालयको चौर, त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गण, तल्लो थाप्ले बसपार्क, मन्दिर र सडकपेटीमा त्रिपालमुनि रात बिताएका छन् ।