कमल शर्मा
दैलेख, कात्तिक १९ गते । राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका –३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो ।
सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले पाँच महिना ढाड दुख्ने बिरामीका कारण थला परेका उहाँको बिहान मृत्यु भएको जानकारी दिनुभयो । उहाँले बिहान ३ बजेतिर मृत्यु भएको राउटे समुदायले आफ्नो परम्पराअनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको बताउनुभयो ।
गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उहाँको जन्म मिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो ।
नारायणको काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उहाँका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो । । भैरवी गाउँपालिका –३ कै कोइराला गाउँमा बसेका राउटेहरू छ दिन अघिमात्र छामघाटमा सरेका थिए । राउटे समुदायमा माहामुखिया भनेको पूर्व मुखियालाई भन्ने गरिन्छ ।