• १२ साउन २०८१, शनिबार

स्वास्थ्यकर्मी तथा राहतसहितको उद्धार टोली, भूकम्प प्रभावित गाउँबस्तीमा

blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, कात्तिक १९ गते । गएराति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र रुकुमपश्चिम जिल्लामा जनधनको ठुलो क्षति भएको छ । भूकम्प केन्द्रबिन्दु रहेको स्थानसँग जोडिएका गाउँबस्तीमा ठुलो क्षति भएको जनाइएको छ । 

सो क्षेत्रमा सरकारी तथा विभिन्न सामाजिक सङ्घ संस्थाको उद्धार तथा उपचार टोली, राहत र औषधीलगायतका सामग्री बोकेर स्वयम्सेवक र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । 

प्रदेश सरकारले राहत सामग्रीसहित र चिकित्सक टोली खटायो 

सुर्खेत समाचारदाताका अनुसार कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा गैरखाद्य सामग्रीसहित चिकित्सक टोली पठाएको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा नेपाली सेनासहितको टोली र जाजरकोटमा चिकित्सको टोली खटाइएको प्रदेश सरकारले जनाएको छ । 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उद्धार र उपचारलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गैरखाद्य सामग्रीका साथै अपरेसन गर्ने चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिनुभयो ।

अन्य राहतका सामग्री पनि सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखिएको जानकारी दिँदैँ उहाँले उद्धार, उपचार र राहत वितरण कार्य निरन्तर जारी रहने उल्लेख गर्नुभयो । घाइतेको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने पनि मन्त्री जिसीले बताउनुभयो । 

उहाँले उद्धारका लागि जनशक्ति तथा राहत सामग्री पठाउने काम जारी राखिएको र घाइतेको उपचारमा प्रदेश सरकारले तीव्रता दिएको जानकारी दिनुभयो । प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह प्रभावित जिल्ला राति नै पुग्नुभएको छ । 

यस्तै प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले तत्काल राहत र उद्धार, कमान्ड पोस्ट स्थापना गरी जनशक्ति परिचालन तथा विषम परिस्थितिमा सहयोग गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था, राजनीतिक दल, आमसञ्चार माध्यम, नागरिक समाजसँग आग्रह गरेको छ । 

शनिबार बिहान बसेको परिषद् बैठकले प्राकृतिक विपत्को घडीमा सबैलाई एकजुट भएर सहयोग तथा सामना गर्न पनि मन्त्री जिसीले अपिल गर्नुभएको छ । उहाँले प्रभावितको सहयोगका लागि सबैसँग आग्रह गरिएको बताउनुभयो । 

प्रदेश अस्पतालमा २५को उपचार जारी

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा २५ जनाको घाइतेको उपचार जारी छ । अन्य घाइते ल्याउने क्रम जारी रहेको छ । घाइतेलाई हेलिकोप्टबाट थप उपचारका लागि सुर्खेत ल्याइएको थियो । 

प्रादेशिक अस्पताल सुर्खेतमा बिहान १५ जना र दिउँसो ३ बजे थप १० जना घाइते उपचारका लागि ल्याइएको हो । अस्पतालका डा. विकास केसीले घाइतेको उपचार सुरु भइसकेको जानकारी दिँदै अन्य घाइते ल्याउने व्रmम जारी रहेको उल्लेख गर्नुभयो । 

उहाँका अनुसार घाइतेको उपचार गर्न प्रदेश अस्पतालको स्वास्थ्यकर्मीको टिम सक्रिय रूपमा खटिएको छ । घाइते थपिएमा थप जनशक्ति परिचालन गर्न तयारी अवस्थामा रहेको जनाइएको छ । 

उद्धारमा एक हजार प्रहरी परिचालन

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा एक हजारभन्दा बढी प्रहरी कर्मचारी उद्धारका लागि उपचारमा परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोट र रुकुमपश्चिमका सबै प्रहरी तथा प्रदेश प्रहरीबाट थप गरी एक हजारभन्दा बढी प्रहरी उद्धारमा खटिएका छन् । 

प्रदेश प्रहरी प्रमुख डिआइजी भीम ढकालले घटना भएदेखि (मध्यरात) बिहानसम्म पनि प्रहरी कर्मचारी उद्धारमा सक्रिय भएको जानकारी दिनुभयो । डिआइजी ढकाल स्वयम् राति नै प्रभावित जिल्लामा पुग्नुभएको छ । 

भूकम्पबाट पाँच जिल्ला प्रभावित

भूकम्पबाट कर्णाली प्रदेशका चार जिल्ला प्रभावित बनेका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश आपत्कालीन सञ्चालन केन्द्रले जाजरकोट, रुकुमपश्चिम, दैलेख, जुम्ला र सल्यान प्रभावित भएको जनाएको छ । 

जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय क्षति हुनुका साथै सल्यान र दैलेखमा घर तथा सरकारी भौतिक संरचनामा क्षति भएको जनाएको छ । 

उक्त सञ्चालन केन्द्रले दिउँसो जारी गरेको एक सूचना अनुसार जाजरकोट र रुकुमपश्चिममा मानवीय क्षति हुनुका साथै दैलेख, जुम्ला र सल्यानमा दर्जनौँ घर क्षतिग्रस्त भएको उल्लेख गरेको छ । 

कालीकोटमा दुई सय घर भत्किए 

यस्तै कालीकोट समाचारदाताका अनुसार भूकम्पले कालीकोटमा दुई सयभन्दा बढी घर भत्किएका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटको भवनसहित जिल्लाभर दुई सय घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. सङ्केत विश्वकर्माका अनुसार आफ्नो कार्यालय पूरै चिरा परेको बताउनुभयो । उहाँले कार्यालयसँगै ओपिडी वार्ड, ल्याब शाखा, प्रसूति गृहमा पनि भूकम्पले क्षति पु¥याएको छ । 

अस्पताल क्षेत्रको जमिन पनि भूकम्पका कारण भासिएको छ । यस्तै भूकम्पका कारण तिलागुफा नगरपालिकामा एक जना घाइते भएका छन् । भाग्ने व्रmममा लडेर तिलागुफा  नगरपालिका–४, राँचुली बस्ने वर्ष ५२ का जयबहादुर शाही घाइते हुनुभएको छ । 

उहाँलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक पोषण थापाले जिल्लाभरको क्षतिको विवरण यकिन गर्न २३ वटा गस्ती टोली परिचालन गरिएको बताउनुभयो । 

उहाँले भूकम्पका कारण सान्नित्रिवेणी गाउपालिका–१ लुसाका भूमिप्रसाद भट्टको घर परै भत्किएको र १६ जनाको परिवार त्रिपालमा बसेको जनाउनुभयो । यस्तै शुभकालिका गाउँपालिका–७, घडासैनका ५५ वर्षीय गजेन्द्रबहादुर शाही, वडा नं. १ का जितबहादुर सुनारलगायत पाँच जनाको घर पनि भत्किएको छ । 

ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएकाले क्षतिको विवरण आउने क्रम जारी रहेको छ । प्रहरी निरीक्षक पोषण थापाले फोनबाट आउने सूचना विवरणलाई पुष्टि गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । 

चिकित्सक र सुरक्षाकर्मीको टोली जाजरकोटमा

दैलेख समाचारदाताका अनुसार भूकम्पपीडितको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र जनप्रतिनिधिको टोली जाजरकोट प्रस्थान गरेको छ । प्रतिनिधि सभाका सदस्य अम्मरबहादुर थापा, पूर्वसांसद रवीन्द्रराज शर्मासहित नेपाली सेना र सशस्त्र र जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट चिकित्सकसहितको टोली जाजरकोटतर्फ प्रस्थान गरेको हो । 

स्वास्थ्य सेवा कार्यालय प्रमुख धर्मराज रेग्मीसहितको डाक्टरको टोली औषधी र एम्बुलेन्स लिएर जाजरकोट हिँडेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले डाक्टर धर्मराज रेग्मीसहित तीन जना डाक्टरको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको जानकारी दिनुभयो । 

थप उद्धारका लागि नेपाली सेनाको ३१ र सशस्त्र प्रहरी बलका २१ जनाको सुरक्षा टोली पनि जाजरकोट प्रस्थान गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

त्यस्तै नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, पार्टीको प्रदेश अध्यक्ष गुलावजङ्ग शाहसहितको टोली पनि जाजरकोट प्रस्थान गरेको एमाले दैलेखका अध्यक्ष प्रेम बुढाले जानकारी दिनुभयो । 

भूकम्पमा परी चार वटा घरमा क्षति पुगेको छ भने भागदौडका क्रममा तीन जना घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइते हुनेमा महावु गाउँपालिका–५, सल्लेरी मानबहादुर शाही, नारायण नगरपालिका–६, नमराज सुवेदी, नारायण नगरपालिका–३ बस्ने प्रजापति धमला रहेको प्रशासनले जनाएको छ । 

यस जिल्लाको गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिकाबाट चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको छ । प्रहरी निरीक्षक कमलप्रसाद आचार्यले कति घरमा क्षति भएको भन्ने विवरण आइनसकेको बताउनुभयो । उहाँले प्रत्येक प्रहरी चौकी र इलाका प्रहरी चौकीबाट प्रहरीसमेत परिचालन गरिएको जानकारी दिनुभयो ।

सल्यानबाट औषधीसहितको टोली खटाइयो

सल्यान समाचारदाताका अनुसार भूकम्पका कारण  घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पताल सल्यानका स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाएको छ । शनिबार बिहान १० बजे औषधीसहितको टोली जाजरकोट पठाएको छ । 

घाइतेलाई सहज रूपमा उपचार गर्न तथा डाक्टर र स्वास्थ्यकर्मीको अभाव हुन नदिन डाक्टर र स्वास्थ्यकर्मीको टिम जाजरकोट पठाएको हो । जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर, दुई स्टाफ नर्स र एक प्यारामेडिक्सलाई जाजरकोट पठाइएको  छ । 

स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन बुढामगरले डाक्टर तथा स्वास्थ्यकर्मीको टिमले शनिबारदेखि जाजरकोट पुगेर भूकम्पमा घाइते भएकाको उपचारमा जुट्ने बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट घाइते भएकाको उद्धारका लागि तत्काल चाहिने सामग्रीलगायत औषधीसमेत पठाएको छ ।  सल्यानबाट जाजरकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले केही दिन जाजरकोटमै बसेर सेवा दिने छन् । वनगाड कुपिन्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्यसहित स्वास्थ्यकर्मी, औषधी, राहत सामग्रीसँगै दुई वटा एम्बुलेन्स र गाडी लिएर बिहानै जाजरकोट पुग्नुभएको छ ।

भूकम्प प्रभावित जिल्लासँग सीमा जोडिएका सल्यानका कुमाख गाउँपालिका र दार्मा गाउँपालिकाले रुकुम चौरजहारी अस्पतालसम्म भूकम्पमा परी घाइतेको उद्धारका लागि एम्बुलेन्स पठाएका छन् ।