गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १६ गते । बाँके ट्राफिकले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकिङ सुरु गरेको छ । सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
“केही दिनदेखि हामीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ढकेरी र शमसेरगञ्ज क्षेत्रका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ओहोरदोहोर गर्ने व्यस्त बजार क्षेत्रलगायत जिल्लाका अन्य स्थानमा पनि ‘राडर गन’बाट चेकजाँच सुरु गर्छौँ” सुवेदीले भन्नुभयो ।
राजमार्ग सँगसँगै तीव्र गतिका कारण धेरै साना सवारी साधनहरू दुर्घटना हुने क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पनि चेकजाँच सुरु गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रत्न राजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा अत्यधिक सवारी दुर्घटनाका घटनाहरू हुने क्षेत्र हो, त्यसलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि उक्त सडकखण्डमा राडर गनको सहायताले ट्राफिक चेकिङ सुरु गर्ने अभियानमा छौँ ।”
यो सडकखण्डमा तीव्र गतिका कारण ठूलाभन्दा साना दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरू दुर्घटना हुनेगरेको पाइएकाले ती सवारी साधनहरूको गति जाँच गरेर दुर्घटना न्यूनीकरणका लागि राडर गनसहित चेकिङ सुरु गरिने ट्राफिक प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पिड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । सवारी दुर्घटनामध्ये अधिक्तम दुर्घटना तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरिएको सुवेदीले बताउनुभयो ।
दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित राडर गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरको दूरीमा आएपछि गति मापन गर्ने तथा त्यस्ता सवारी साधन तीव्र गतिमा छ भने सय मिटरको दूरीमा आएपछि नम्बरसहितको सवारी साधनको फोटो समेत राडर गनले खिच्ने उहाँले बताउनुभयो ।
कुन गाडी कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने उहाँको भनाइ छ ।
सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको भन्दै ट्राफिक प्रमुख सुवेदीले चालकलाई सीमित गतिमा आफ्नो सवारी साधन चलाउन पनि आग्रह गर्नुभयो । बाँके ट्राफिकले चेकजाँच र कारबाही मात्रै नभएर जिल्लाका विभिन्न ठाउँ–ठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धि सचेतना कार्यक्रम पनि निरन्तर गरिरहेको छ ।