• २ माघ २०८१, बुधबार

सञ्चारको पहुँच बाहिर पेल्काचौर गाउँ, चार सय परिवार समस्यामा

blog

सञ्चारको पहुँच पुग्न नसकेको स्याङ्जाको पुतलीबजार नगरपालिका १२ को पेल्काचौर गाउँ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १६ गते ।
सञ्चार प्रविधिले निकै फड्को मारेको समयमा गाउँमा नै कुनैपनि सञ्चार चल्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । गण्डकी प्रदेश सूचना र सञ्चारमा अगाडि छ त्यो पनि स्याङ्जा जिल्ला त झनै सञ्चारमा अगाडि मानिन्छ । तर जिल्ला सदरमुकाम नजिकैको एक सिङ्गो गाउँ नै सञ्चारको पहुँचमा पुग्न सकेको छैन ।

सदरमुकामको पुतलीबजार नगरपालिका– १२ पेल्काचौरका चार सयभन्दा धेरै परिवार समस्यामा छन् । कसैसँग कुरा गर्नु पर्यो भने अग्लो पहाड, रुख वा अग्लो ठाउँमा रहेको चौतारोमा पुग्नु पर्ने अवस्थामा रहेको स्थानीय प्रकाश अर्यालको गुनासो छ ।

जिल्ला सदरमुकाम नजिकै अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा पेल्काचौरका स्थानीय सञ्चारको उपभोगबाट पछाडि पर्नु परेको अर्यालको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश गएका स्थानीयहरु परिवारबीच सूचना आदान प्रदान, फोन सेवा वा ईन्टरनेट सेवा लिनबाट वञ्चित हुँदै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गाउँ भर नै हुन सकेको छैन भने एनसेलको सिम पनि गाउँमा चल्दैन ।

नेटवर्क व्यवस्थापनका लागि प्रदेश तथा संघमा समन्वय गरी तीन वर्ष अगाडि टेलिकमबाट प्राविधिक टोली आई निरीक्षणको काम गरेपनि टावर निर्माण हुन नसकेको पुतलीबजार–१२ का वडाअध्यक्ष गन्जसीङ गुरुङको भनाइ छ । स्थानीयलाई सञ्चारको सुविधा पुर्‍याउनका लागि आफूहरुको पहल रहदै आएको उहाँको भनाइ छ ।