चितवन समाचारदाता
चितवन, कात्तिक १६ गते । लागुऔषध दुव्र्यसनविरुद्ध नारायणी नदी किनारमा महोत्सव हुर्न भएको छ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । चितवनतर्फको नारायणी नदी किनारमा हुने महोत्सवको आयोजक रिकभरिङ युनाइटेड र औद्योगिक शान्ति नेपाल संस्था रहेको रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी मङ्सिर ६ गतेदेखि १६ गतेसम्म महोत्सव हुँदै छ । महोत्सवबाट नाफा भएको रकमले ३० जना लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीलाई सहभागी गराई लागुऔषधविरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद, गायन तथा नृत्य कार्यक्रमहरू राखिएको छ ।
लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीको प्रवर्धनका लागि पनि महìवपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवमा २५० भन्दा बढी स्टल रहने महोत्सव मूल समिति संयोजक महेश श्रेष्ठले बताउनुभयो ।
सो महोत्सवले भरतपुर भ्रमण वर्ष–२०२४ लाई सफल बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरूको जानकारी दिन महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिने छ । ख्यातिप्राप्त कलाकारले हरेक दिन दर्शकलाई मनोरञ्जन हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
दैनिक पाँच हजार जनाले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न ५७ लाख रुपियाँ खर्च हुने अनुमान छ । महोत्सव अवलोकनका लागि अन्यलाई ७० र विद्यार्थीलाई ५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार ५०० जना लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गरिसकेको छ ।