• २९ वैशाख २०८१, शनिबार

प्रयोगमा आएन भेन्टिलेटर

blog

तम्घास समाचारदाता

तम्घास, कात्तिक १६ गते । कोभिड–१९ महामारीका समयमा गुल्मी अस्पतालमा स्थापित दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु खासै प्रयोगमा आउन सकेको छैन ।

नेपाल सरकारको दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । गुल्मी जिल्लालगायत छिमेकी जिल्लाका सयौँ जनताले उपचार गर्ने अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु उपयोग नभएको बताइन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात् ल्याबको प्रयोग नभएको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा पिसिआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल, सहज र कम खर्चमा हुने भएकाले ल्याबको उपयोग नभएको बताउनुभयो । आइसियु सञ्चालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको सञ्चालन हुन नसकेको पाण्डेको भनाइ छ । 

गुल्मी अस्पतालका प्रमुख डाक्टर किशोर बन्जाडेले राज्यको लगानीमा रहेमा महत्वपूर्ण उपकरणहरू यसै थन्किएर बस्नु दुःखद भएको बताउनुभयो ।