• ११ मंसिर २०८१, मङ्गलबार

पर्वतारोही पाण्डेको सेभेन समिट अभियान

blog

रामेछाप समाचारदाता

रामेछाप, कात्तिक १६ गते । पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको छ । सेभेन समिट अभियानमा रहनुभएका पाण्डेले अफ्रिकाको तान्जेनियामा रहेको पाँच हजार ८९५ मिटर अग्लो सो हिमालको सफल आरोहण गर्नुभएको हो । 

लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङमा जन्मिनुभएका ३२ वर्षीय पाण्डेले किलिमन्जारोमा नेपालको राष्ट्रिय झन्डा तथा स्काउटको झन्डा फहराउनुभएको छ ।

किलिमन्जारो तान्जानियाको सुप्त ज्वालामुखी क्षेत्रमा अवस्थित यो पहाड सात महादेशको अग्लो हिमालमध्ये एक हो । पाण्डेले स्थानीय समय अनुसार अक्टोबर ३१ तारिख अर्थात् यही महिनाको १४ गते मङ्गलबार बिहान ६ बजेर ४० मिनेटमा किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको हो ।

पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको जानकारी दिँदै यो अभियान आफ्नो मात्र नभई सिङ्गो नेपाल र नेपाली जनताका लागि पनि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यो अभियान आफ्नो मात्र होइन, सिङ्गो नेपाल र नेपाली जनता कै अभियान हो । यो अभियानले अन्य मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध निर्माण र विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिएको छु ।” 

एकोन्कागुआ हिमाल आरोहणको तयारी

सेभेन समिट अभियान अन्तर्गत किलिमन्जारोपछि अन्य महादेशका अग्लो हिमाल आरोहणलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो । अब नेपाल फर्किएपश्चात् अर्जेन्टिनाको एकोन्कागुआ हिमाल आरोहणको तयारी गर्छु, पर्वतारोही पाण्डेले भन्नुभयो । 

नेपाल स्काउटसमेत रहनुभएका पाण्डेले किलिमन्जारो आरोहण गर्नुभन्दा पहिला अफ्रिकामा बालबालिकालाई खेलकुदका सामग्रीसमेत हस्तान्तरण गर्नुभएको थियो । अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गर्न पाण्डे गत अक्टोबर २३ अर्थात् कात्तिक ८ गते जानुभएको थियो । पर्वतारोही पाण्डेलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र किरण केसीलगायतले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर बिदाइ गर्नुभएको थियो । 

सात महादेशका उच्च शिखर आरोहण गर्ने

पर्वतारोही पाण्डेले सगरमाथा, मनासलु, अमादब्लम र आइल्यान्ड हिमालको पनि सफल आरोहण गरिसक्नुभएको छ । गत जुनमा उहाँले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्नुभएको थियो । 

एक वर्षभित्र विश्वका सात वटै महादेशका सात उच्च शिखर आरोहण गर्ने लक्ष्य राख्नुभएका पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको सर्वोच्च शिखर एल्ब्रुस पछि किलिमन्जारो तेस्रो महादेशको उच्च शिखर आरोहण गर्नुभएको हो ।