• ३० वैशाख २०८१, आइतबार

मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन गरिँदै

blog

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलसहित बैठकमा सहभागीहरु । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १५ गते । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवर्धन गर्न लिएको नीतिअनुरूप पहिलो पटक बाँकेमा मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुनेभएको छ । 

प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमको आयोजना गर्ने भएको हो ।

मङ्गगलबार राप्तीसोनारी गाउँपालिका र पर्यटन डिभिजन कार्यालय बाँकेले पालिकाको कार्यालयमा बैठक बसी आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम ‘मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

पर्यटन डिभिजन कार्यालय प्रमुख दिनेश अधिकारी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनीषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालगायत राप्तीसोनारीका विभिन्न वडाका वडाध्यक्षको उपस्थितिमा भएको बैठकले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो । 

मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण गर्न राप्तीसोरारीको ३ र ४ लाई छनौट गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले स्थानीय उत्पादनबाट बनाइएको मदिरालाई ‘ब्रान्डिङ’ गर्नसके रोजगारीदेखि आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

पर्यटन डिभिजन कार्यालय प्रमुख अधिकारीले लुम्बिनी प्रदेशका अन्य स्थानभन्दा बाँकेको राप्तीसोनारीका सामुदायिक वनमा बढी मौवा उत्पादन हुने भएका कारण राप्तीसोनारीलाई छनौट गरिएको बताउनुभयो । उहाँले मौवाको स्थानीय मदिरा उत्पादनका लागि दुई वडाका ३० घरहरू छनौट गरिने बताउनुभयो ।

“यो परीक्षणका लागि हो । अब हामी छनौट गरिएका वडामा शुक्रबार जान्छौँ र ३० घरधुरी छनौट गरेर उहाँहरूलाई मदिरा उत्पादन गर्न आवश्यक सामग्री खरिद गर्नेछौँ । छनौट भएका घरधुरी सबैलाई एकै पटक नभएर फरक फरक समयमा मदिरा उत्पादन गर्न दिन्छौँ । उहाँहरूले उत्पादन गरेका मदिरा पनि फरक फरक बोतलमा राख्छौँ” अधिकारीले भन्नुभयो । 

अधिकारीका अनुसार मौवाको स्थानीय उत्पादन परीक्षणका लागि परामर्श दातासमेत राखिने छ, आवश्यकताअनुसार गुणस्तर नापतौलसँग पनि समन्वय रहनेछ । मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण कार्यक्रममा हाल राप्तीसोनारी गाउँपालिकाले समन्वयको भूमिका निभाएको अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारले स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्नका लागि १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । जसमध्येबाट पर्यटन विभागले राप्तीसोनारीमा मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण गर्न लागको हो ।

अधिकारीले मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण सफल भएको खण्डामा उक्त क्षेत्रका स्थानीयको आयआर्जनको स्रोत थपिने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रदेशभर विभिन्न जातिको लोकल पेय पदार्थ र मदिरा (अनदी, कौबा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालीगुराँस आदि) उत्पादनका लागि तालिम, टेस्टिङ ल्याब निर्माण, उपकरण खरिद, प्याकेजिङ, ब्रान्डिङ, मार्केटिङ तथा पूर्वाधार निर्माण कार्य गर्ने उल्लेख गरेको छ ।